कोरोना भाइरसबाट २१३ जनाको मृत्यु : डब्लूएचओद्वारा विश्वव्यापी ‘संकटकाल’ घोषणा

कोरोना भाइरसबाट २१३ जनाको मृत्यु : डब्लूएचओद्वारा विश्वव्यापी ‘संकटकाल’ घोषणा

काठमाडौं । नोवल कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने त्रास बढेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण तीब्र रुपमा विश्वव्यापी फैलिन थालेपछि डब्लूएचओले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको हाे। चीनमा कोरोना भाइरसका कारणा २१३ जनाको मृत्यु भइसकेको छ ।

बीबीसीले जनाए अनुसार यो भाइरसको संक्रमण विश्वका १८ मुलुकमा फैलिइसकेको छ। चीनमा मात्रै कोरोना भाइरसका कारण २१३ जनाको मृत्यु भइसकेको छ। चीनबाहेक अन्य देशमा कोरोना भाइरसका कारण कसैको ज्यान गएको छैन।

वुहानबाट आवातजावत भएका मानिसहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ। नेपालमा पनि कोरोना भाइरस देखा परेको थियो भने छिमेकी भारतमा बिहीबार मात्रै एकजनामा कोरोना भाइरस देखा परेको छ। अमेरिका, जर्मनी, जापान, भियतनामलगायतका मुलुकमा पनि कोरोना भाइरसका बिरामी फेला परेको बीबीसीमा जनाइएको छ ।