काठमाडौं, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको काम गराइ र पार्टीको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको बैठकमा सरकारले असाधारण काम गरेको बताइरहँदा अर्का अध्यक्ष दाहालले भने यस्तो बताउनुभएको हो ।
सरकारले ठूला कुराहरु गरिरहँदा स–साना काममा ध्यान दिन नसकेको, विधेयक बनाउँदा सरोकारवालासँग छलफल नगरेको, भ्रष्टाचार नरोकिएको लगायतका कमजोरी दाहालले औंल्याउनुभयो । त्यसैगरी, पार्टीभित्र अहिले घात, अन्तरघात र अराजकताको स्थिति रहेको दाहालको विश्लेषण छ ।
उल्लेख्य सफलताका बाबजुद जनताका आशा र अपेक्षा पूरा गर्न सरकारले ६ वटा विषयमा सुधार गर्न विशेष ध्यान दिनु आवश्यक रहेको उहाँले बताउनुभयो । सरकारले ठुल्ठुला कुरा मात्रै गरेर नपुग्ने भन्दै दाहालले स–साना कुरामा पनि ध्यान जानुपर्ने बताउनुभयो ।
केन्द्रीय समिति बैठकमा सरकारका कामको समीक्षा गर्दै प्रचण्डले फाष्ट ट्रयाक र सडक विस्तारको कुरा गर्दा भइरहेका सडकमा दिनदिनै हुने गरेको दुर्घटना र जनधनका क्षति रोक्न नीति योजना र कार्यक्रम निर्माण एवम् बजेट विनियोजनमा पनि सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो । जारी केन्द्रीय कमीटी बैठकमा लिखित राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष दाहालले विभिन्न पाँच वटा बुँदामा ओली सरकारका कमजोरी औल्याउनुभएको छ ।
अध्यक्ष दाहालले सरकारका कामप्रति मात्र नभई पार्टीको अवस्थाका बारेमा पनि चिन्ता प्रकट गर्नुभएको छ । दाहालले पार्टी संगठन कमजोर अवस्थामा रहेको, संस्थागत हुन नसकेको, गुट सक्रिय रहेका र पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृति कायम रहेको बताउनुभयो ।