

काठमाडौं, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको जारी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ । अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको साङ्गठनिक प्रतिवेदनमाथि आजैदेखि समूहगत छलफल हुने छ । छलफलपछि शुक्रबार र शनिबार समूहका नेताले आ–आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधि रहेको छ ।
छलफलका लागि २९ देखि ३० जनाको सहभागितामा १५ वटा समूह बनाइएको छ । ६ वटा समूहले राष्ट्रिय सभागृहमा, ५ वटाले पार्टी कार्यालय पेरिसडाँडामा र ४ वटा समूहले धुम्बाराहीमा छलफल गर्ने तय भएको छ । एमसीसी परियोजना, सीमा विवाद, समाजवादउन्मुख पार्टीको रणनीति, महाधिवेशनको कार्यसूचीलगायत विषयमा समूहगत निष्कर्ष भोलि सामूहिक छलफलमा पेस गरिने नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
हिजोको केन्द्रीय कमिटी बैठकमा करिब ४५ जनाले बैठकका एजेण्डाका बारेमा आआफ्नो धारणा राखेका थिए । उनीहरूले सीमा विवाद, एमसीसी परियोजना, निर्वाचन प्रणाली, महिला समावेशिता, सरकारको कामकारबाही, पार्टीको डेढ वर्षे कार्यकालको समीक्षाको बारेमा मसिनो छलफल गर्नपाउनुपर्ने माग गरेका थिए । बैठकमा श्रव्य र दृश्य सङ्कलन गरिने छ । बैठक माघ १९ गतेसम्म प्रत्येक दिन बिहान ११ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ । पार्टी एकतापछि पहिलोपटक कार्यसूचीसहित दोस्रो बैठकमा केन्द्रीय कमिटीका ४४१ सदस्यको सहभागिता रहनेछ ।