

काठमाडौँ, १५ माघ । साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा पुग्न सफल भएको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा साविक उपविजेता संकटा क्लबमाथि ३–० को जित हासिल गर्दै मनाङ तेस्रो स्थानमा पुगेको हो । खेलको ४२औं मिनेटमा अमित तामाङले आत्मघाती गोल गर्दा मनाङले अग्रता लिने अवसर पायो । त्यसको एक मिनेटमै अन्जन विष्टले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए । निशान लिम्बूले ७१औं मिनेटमा गोल गर्दै मनाङलाई ३–० ले जिताए यो खेल जित्दै ९ खेलबाट १९ अंकसहित मनाङ तेस्रो स्थानमा पुगेको हो । अंक र गोल अन्तर बराबर भएपनि कार्ड खाएको हिसाबले मच्छिन्द्र फुटबल क्लब अंकतालिकाको दोस्रो स्थानमा छ ।
लिगमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको २० अंक छ । पराजित संकटा १२ अंकबाट आठौं स्थानमा यथावत छ । बिहीबार नवौं चरणका अन्तिम दुई खेल हुँदैछन् । मध्याह्न १२ बजे फ्रेन्ड्स क्लबले च्यासल युथ क्लबसित तथा दिउँसो ३ बजे न्यूरोड टिम (एनआरटी)ले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सित खेल्दैछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् ।