

काठमाडौँ, १५ माघ । काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्र र जनताप्रति समर्पित रहेका शहिदहरुको योगदानलाई कसैले पनि भुल्न नहुने बताउनुभएको छ ।
काठमाडौ महानगरपालिकाले माग १० गतेदेखि मनाइरहेको सहिद सप्ताह अन्तर्गत बुधबार काठमाडौको शोभाभगवतीस्थित निर्माण गरिएको शहीद गंगालाल तथा दशरथ चन्दको पूर्णकदको शालिक अनावरण गर्दै यस्तो बताउनुभएको हो । महानगरपालिकाले शहिद सप्ताह अन्तर्गत बुधबार शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अहिलेपनि अक्सिजन प्लान्ट नरहेकाले हृदय केन्द्रको माग अनुसार अक्सिजन प्लान्ट खरिद गर्दा लाग्ने स्म्पूर्ण खर्च काठमाडौ महानगरपालिकाले बेहोर्ने भनेर सम्झौता गरेको जानकारी उहाँले दिनुभयो ।
त्यस्तै शहिद धर्मभक्त माथेमाको सम्झनामा बिहीबार महानगरको वडा नम्बर २३ को वडाकार्यालयको संयोजनमा शहिद धर्मभक्त माथेमा स्मृति पार्कको उद्घाटन गरिने जानकारी दिनुभयो ।कार्यक्रममा महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले आजका पुस्ताले शहिदहरुलाई सम्मान गर्न नसके आउने पुस्ताले पनि सम्मान गर्न नसक्ने बताउनुभयो । समाज परिवर्तनको इतिहासमा शहिदहरुको योगदान अमुल्य रहेको अन्य सरोकारवालाको भनाई थियो ।