

काठमाडौं, १५ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज एक मात्र खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो तीन बजे हुने खेलमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
गत संस्करणको विजेता मनाङ लिग लिडर त्रिभूवन आर्मी क्लबभन्दा चार अङ्कले पछि छ । शीर्ष स्थानमा रहेको आर्मीको २० अङ्क छ भने मनाङको १६ अङ्क छ । उपाधि रक्षा अभियानमा मनाङलाई आजको तीन अङ् निकै महत्वपूर्ण छ । उसले आठ खेलमा चारमा जित र चारमा बराबरी खेलेको छ । जारी लिगमा एक खेलपनि नहार्ने टिम मनाङ मस्र्याङ्दी हो ।
त्यही अपराजित यात्रालाई कायम राख्दै मनाङ उपाधि रक्षा अभियानमा बलियो हुन चाहन्छ । गत संस्करणको उपविजेता संकटा भने यो संस्करणमा प्रभावशाली देखिएको छैन । आठ खेल सकिँदा संकटाले तीन जित, तीन बराबरी र दुई हारको नतिजा निकालेको छ । संकटाले १२ अङ्क बनाएको छ ।