

काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आजबाट बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजाे बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँकाअनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । त्यसैगरी बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने र सातै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो प्रदेश कमिटिको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनसभयो ।
यसैगरी सममायिक प्रस्ताव र विविध विषयसमेत बैठकमा प्रस्तुत हुने बताइएको छ । उहाँकाअनुसार समसामयिक प्रस्ताव अहिलेको राजनीतिक गतिविधिमा केन्द्रीत हुने छ । आजदेखि शुरु हुने बैठक यही माघ २० गतेसम्म राष्ट्रिय सभागृहमा बस्न लागेको हो । पार्टी एकता भएको डेढ वर्षपछि बैठक पहिलो पटक कार्यसूचीसहित बस्न लागेको हो ।