गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरी ‘इन्काउन्टर’ मा मारिए

गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरी ‘इन्काउन्टर’ मा मारिए

बुटवल। हत्या र चन्दा आतंक मच्चाउँदै आएका विभिन्न व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका-४ भवानीपुरमा प्रहरी कारबाहीमा पुन र आले दुवैजना मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग आमनेसामने भएपछि उनले गोली प्रहार गरेका थिए । पुनसँगै उनका सुटर सोमबहादुर आलेको पनि मृत्यु भएको छ । दुवैको शव रुपन्देहीको अञ्चल अस्पतालमा राखिएको छ ।

सीआईबीको टोलीले मनोज पुनको समूह नेपालमै लुकिछिपी बसेको सूचना दिएपछि रूपन्देही प्रहरीले सम्भावित स्थानहरुमा खोजी गर्दै जाँदा प्रहरीसँग आमनेसामने भएको र प्रहरीलाई आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।

अपराधका लागि मिटिङ गरिरहेको स्थानमा फेला परेको प्रहरीको दाबी छ । एसपी ज्ञवालीका अनुसार मनोज पुन कुनै गम्भीर घटनाको लागि नेपाल आएका थिए । सोही सूचना नेपाल प्रहरीले पाएको थियो । उनीहरुको साथबाट प्रहरीले पेस्तोल हतियार समेत बरामद गरेको छ ।

घटनास्थलमा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो । पुन विगत ३ वर्षदेखि प्रहरीको मोष्ट वान्टेड सूचीमा थिए ।

गत वर्ष देवदहमा भएको युवा संघका नेता दुर्गा तिवारीको हत्याको मुख्य आरोपी पुनको असोजमा काठमाडौंमा भएको शरदकुमार गौचनको हत्यामा पनि संलग्नता रहेको प्रहरीले जनाएको छ । गत पुस २२ गते उनले देवदहमा वसन्त पौडेल ‘बलु’ को हत्या गराएका थिए । व्यापारीहरुको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउँदै आएका थिए ।

३० वर्षीय मनोज पुन रुपन्देही जिल्लाको देवदह नगरपालिका–६ निवासी हुन् । उनको वास्तविक नाम मनोज बुढामगर हो । उनी कुनै बेला एमालेको ‘युथ फोर्स’ गठन भएको केही समयपछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर १ का कोषाध्यक्ष थिए ।