पार्टी सभापतिलाई सहयोग नरहने कुरै छैन

पार्टी सभापतिलाई सहयोग नरहने कुरै छैन

रामकृष्ण यादव, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

रामकृष्ण यादव २०३३ सालदेखि नेपाली कांग्रेसमा निरन्तर सक्रिय छन् । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी धनुषा नेविसंघको जिल्ला सभापति र स्ववियु सभापति पनि भए । नेविसंघ पछि उनी पार्टी राजनीतिमा सक्रिय भए । पार्टीमा आएपछि उनी पार्टीको धनुषा जिल्ला सभापति, जिल्ला सचिव, सांसद र कृषिमन्त्री पनि भए । नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका यादवसँग गरिएको कुराकानी :

नेपाली कांग्रेसभित्रको विवाद मिलेको हो त ?
– हो, नेपाली कांग्रेसभित्रको विवाद मिलेको छ, अब कांग्रेस एक भएको छ । कांग्रेसभित्र जुन आन्तरिक मतभेद थियो, त्यो समाप्त भएको छ । पार्टी सभापति, वरिष्ठ नेता, महामन्त्रीलगायतका नेताहरू एक ठाउँमा बसी गहन छलफल गर्नुभएको छ । मुलुकको जुन अवस्था छ, यो अवस्थामा नेपाली कांंंग्रेस एक हुनुपर्छ भन्ने ठानी उहाँहरू एक ठाउँमा आउनुभएको छ । नेपाली कांग्रेस एक भएर सदन र सडकमा आओस् भन्ने कांग्रेसका आमकार्यकर्ता, शुभचिन्तक र जनताको चाहना थियो, त्यो पूरा भएको छ ।

उहाँहरूको असहमति केमा थियो ?
– नेपाली कांग्रेसको एउटा इतिहास छ । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । यसले लोकतन्त्रका लागि हरेक आन्दोलनको अगुवाइ गर्दै आएको छ । नेपाली कांग्रेस मात्र एउटा यस्तो पार्टी हो, जसले मुलुकको हरेक समस्याको समाधान गर्न सक्छ भन्ने विश्वास आमजनतालाई दिएको छ । यस्तो स्थितिमा नेपाली कांग्रेसले गर्ने हरेक निर्णय सहमति, सहकार्य र एकताबाट हुँदै आएको छ । यो नेपाली कांग्रेसको परम्परा पनि हो । तर यसबीचमा नेपाली कांग्रेसबाट गरिएका केही निर्णय असहमतिबाट अगाडि बढाइएको थियो । त्यसमा हाम्रो अहसमित हो । अब त्यस विषयमा सामधान निस्केको छ । र, १३ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक पनि बोलाइएको छ । पार्टी संगठन सुदृढीकरणका लागि सहमति, सहकार्य र एकताबाट अघि बढ्नुपर्छ भन्ने सहमति भएको छ । नेपाल विद्यार्थी संघ, तरुण दलको विषयमा पनि कुरा मिलेको छ । यसैगरी, महाधिवेशनको प्रक्रियाको विषयमा पनि सहमति भएको छ । हामीले १४औं महाधिवेशनको कार्यतालिकाको विषयमा कुरा उठाएका थियौं । त्यसमा पनि सहमति भएको छ ।

तपाईंहरूले महाधिवेशनको कार्यतालिका पनि परिमार्जन गर्नुपर्छ भन्ने अडान राख्नुभएको थियो, तर महाधिवेशनेका कार्यतालिका परिमार्जन भएन नि ?
– फेरबदलको कुरा मात्र होइन । मुख्य कुरा पार्टीमा अल्पमत र बहुमतबाट निर्णय नगरौं । सहमतिबाट निर्णय गरौं भन्ने हाम्रो भनाइ हो । यसमा सहमति भएको छ । पार्टी एउटै हो, फरक फरक पार्टी होइन । यो कुरा सबै नेताहरूले बुझ्नुभएको छ । नेताहरूबीच सहमति भएपछि केही कुराहरूमा सुधार भएको छ । क्रियाशील सदस्यताको बारेमा कुरा भएको थियो । त्यसमा सुधार भएको छ । यसैगरी, तलदेखि माथिसम्म्म अधिवेशन गर्ने विषयमा छलफल भएको छ । नेपाली कांग्रेस भनेको एउटा परिवार हो । परिवारभित्र यस्ता सानातिना कुरा आउँछन् । सबै सहमतिबाट समाधान हुन्छन् । सहमतिबाट समाधान गरौं भन्ने हाम्रो भनाइ हो ।

अन्ततः तपाईहरूले चिसो पानीमै नुहाउनुभयो भन्ने कुरा पनि आएको छ नि ?
– पार्टीभित्र एकताको सन्देश गएको छ, त्यो महत्वपूर्ण कुरा हो । केही कार्यविधि परिमार्जन गरिएको छ । हाम्रो एउटै पार्टी हो, एउटै परिवार होे । एउटै सिद्धान्त हो र एउटै परिवार हो । निर्णय गर्ने प्रक्रियामा मात्र हाम्रो अहसमति थियो । तर यसमा पनि कुरा मिलेको छ । एकले अर्काको अस्तित्वलाई स्वीकार गरिएको छ र एकले अर्कोलाई सम्मान गर्ने वातावरण बनेको छ । पार्टीभित्र जति कुरा थिए र सानोदेखि ठूलासम्म जति कुरा आएका थिए, ती सबैको समाधान भएको छ ।

अब फागुनमा पार्टीको महाधिवेशन हुन्छ त ?
– निश्चित रूपमा अब फागुनमा नेपाली कांग्रेसको महाधिवेशन हुन्छ । महाधिवेशनका लागि कार्यतालिका बनेको छ । कार्यतालिकाअनुसार सबै काम हुन्छ ।

तर तयारी ढिलो भएन र ?
– अलिकति तयारी ढिलो भएको हो, तर त्यति धेरै ढिलो भएको पनि होइन । अझै समय बाँकी छ । सबै कुरा सहमति भएको छ । सबैजनाको अठोट समयमा महाधिवेशन गरौं भन्ने नै छ । त्यसैले समयमा महाधिवेशन हुनेमा कुनै शंका छैन ।

अब विभागहरू गठन हुने भए, होइन ?
– हो, सबै काम हुँदै जान्छन् । अब भ्रातृसंगठन तथा शुभेच्छुक संगठनहरूका महाधिवेशन हुन्छन् । महाधिवेशन गराउन जस–जसको समितिहरू बनेका छैनन्, त्यसको समिति बनाउने, तलदेखि माथिसम्म अधिवेशनको कार्यतालिका ल्याउने भन्ने विषयमा सहमति भएको छ । नेविसंघ, तरुण दलको विषयमा पनि सहमति भएको छ । मुलुकको अगाडि जुन जुन चुनौतीहरू छन्, ती चुनौतीको समाधान गर्न एक भएर अगाडि बढ्ने सहमति भएको छ ।

विभागहरू पनि सहमतिबाट बन्छन् ?
– सबै कुरा सहमतिमा हुन्छ । हाम्रो पार्टीमा जे जे निर्णय हुन्छन्, ती सबै सहमतिबाटै हुन्छन् । सहमति र सहकार्यबाट निर्णय गर्ने कांग्रेसको परम्परा नै हो । नेपाली कांग्रेसको इतिहास नै सहमति, सहकार्य र एकताबाट अघि बढ्ने इतिहास हो । त्यो इतिहासलाई हामी कायम राख्छौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले पनि सहमति, सहकार्यबाटै निर्णय गर्छ ।

सहमतिका लागि कांग्रेस नेतृत्व अलि लचिलो भएको हो ?
– सहमतिको लागि सबैजना लचिलो भएका हुन् । निश्चित रूपमा पार्टी सभापति भनेको अभिभावक हो । यसमा उहाँको भूमिका हुन्छ नै । पार्टीभित्र जुन असहमतिको वातावरण सिर्जना भएको हो, त्यसबाट उहाँ अत्यन्तै चिन्तित हुनुहुन्थ्यो । यसको समाधानका लागि पार्टी सभापतिले आफ्नो भूमिका निर्वाह गर्नुभएको छ । सबैजनालाई मिलाएर पार्टीलाई अघि बढाउने अठोट र संकल्प उहाँले गर्नुभएको छ । त्यसैले पार्टीभित्र सहमतिको वातावरण तयार हुनुमा सबै लचिलो भएर नै हो । यसमा कुनै व्यक्ति तल र कुनै व्यक्ति माथि भन्ने होइन । अब हामी एकढिक्का भएर अगाडि बढ्छांै ।

भनेपछि अब सभापतिलाई तपाईहरूको सहयोग रहन्छ ?
– पार्टीले गर्ने सबै निर्णय सहमति र सहकार्यबाट हुने छ भनी सहमति भएको छ । सहमतिबाट हुने निर्णयलाई हामी सहयोग गर्छाै । अब पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ । बैठकले गर्ने निर्णय पनि सहमतिबाटै हुने छ । हामीले हिजो पनि सभापतिज्यूलाई सहयोग गरेका हौं, आज पनि सहयोग गर्छौ । उहाँलाई हाम्रो पूर्ण सहयोग रहन्छ । बीचमा अलितिक असहमतिको वातावरण तयार भएको थियो, त्यो पनि मिलेको छ ।

सभापतिको चार वर्षको कार्यकाललई तपाईले कसरी हेर्नुभएको छ । यो कार्यकाललाई सफल मान्ने कि असफल मान्ने ?
– विगतमा जे भएको छ, यो विषयमा सबैलाई थाहा भएको छ । यसलाई अब नकोट्याऔ । त्यो समय बितिसकेकेको छ । जे बाँकी छ, त्यो समयलाई कसरी सकारात्मक बाटोबाट अघि बढ्ने हो, त्यतातिर सोचौं । नेपाली कांग्रेसले यति ठूलो इतिहास बोकेको छ । यस पार्टीमाथि लोकतन्त्र जोगाउने जिम्मेवारी पनि छ । यो आमजनताको चाहना पनि छ । यो जिम्मेवारी नेपाली कांग्रेसले पूरा गर्नुपर्छ । कांग्रेसका लाखौं शुभेच्छुकहरूको चाहना पनि यही छ । त्यो कुरा नेताहरूले पनि बुझ्नुभएको छ । त्यसैले आन्तरिक कुराहरूलाई मिलाएर सहमति, सहकार्य र एकताबाट अघि बढ्ने सहमति भएको छ । अब विगतमा हामी नजाऔं । विगमा के के भयो, त्यसलाई विगतमै छाडौं । जति क्षति भयो, त्यो भइसक्यो । अब त्यसलाई कसरी पूर्ति गर्ने हो, त्यतातिर हामीले ध्यान केन्द्रित गरौं । यसमा हामी सबै लागौं । पार्टी अब महाधिवेशनमा जुटेको छ । आगामी फागुनमा महाधिवेशन हुँदै छ । अब तलदेखि अधिवेशनको प्रक्रिया अघि बढ्छ ।

कांग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी र सशक्त निभाएन भन्ने गरिन्छ, तपाईलाई यस्तो लाग्छ कि लाग्दैन ?
– कांग्रेसले प्रतिपक्षको भूमिका सशक्त निभाउनुपर्छ, यो सबैको चाहना हो । यो बीचमा कांग्रेसमा अलिकति आन्तरिक असहमझदारी सिर्जना भयो । यो कुरा सबैलाई थाहा छ । आन्तरिक समस्या मिलाउन पार्टीका नेताहरू केही व्यस्त हुनुभयो । अब कुरा मिलेको छ । पार्टीले अब सशक्त रूपमा प्रतिपक्षीको भूमिका निभाउँछ । कांग्रेस एउटा लोकतान्त्रिक र जिम्मेवार पार्टी हो । यसले अरु पार्टी जस्तो उच्छृंखल काम र गतिविधि गर्दैन । संविधानले दिएको अधिकारभित्र रहेर प्रजातान्त्रिक ढंगबाट सदन र सडकमा आफ्नो भूमिका निभाउँछौं । सशक्त प्रतिपक्षको भूमिका निभाउन सदनमा केही कमीकमजोरी भएका छन् भने त्यसलाई अब हामी दोहाेर्याउँदैनौं ।
विगतमा जे जस्तो भयो, अब त्यता नजाआ । अब कसरी अघि बढ्ने हो, त्यतातिर सोचौं । अहिलेको सरकारले लोकतन्त्रलाई सिध्याउने काम गरेको छ । प्रजातान्त्रिक खम्बाहरूलाई सरकारले विस्तारै कमजोर बनाउँदै गएको छ । सरकारबाट संविधानमाथि प्रहार गर्ने काम भइरहेको छ । यसलाई जोगाउन कांग्रेसले अब सशक्त प्रतिपक्षको भूमिका निभाउँछ ।

तपाई प्रदेश २ बाट प्रतिनिधित्व गर्नुहुन्छ, राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले गुमाएको छ, के कारण यस्तो भएको हो ?
– हेर्नुहोस्, स्थानीय तहको निर्वाचनमा प्रदेश २ मा हामी प्राविधिक रूपमा केही कमजोर नै थियौं । त्यसमा पनि अहिले राजपा र नेकपाले अपवित्र गठबन्धन गरेका छन् । त्यो अपवित्र गठबन्धनले तराई मधेसको हित गर्न सक्दैन । दुई विपरीत सिद्धान्त भएको पार्टीको स्वार्थवश भएको गठबन्धनलाई मैले अपवित्र भनेको हुँ । अब कुन नैतिकताले राजपाले नेकपाको विरोध गर्छ ? संघीय समाजवादी भननुस् वा राजपा यी दुवै तराई–मधेसको दोहन गर्ने पार्टी हुन् ।
राजपाले अप्राकृतिक किसिमबाट नेकपासँग सहमति गरेको छ । राजपाका नेताहरू नेकपातिर जानुभएको छ । नेकपाको सरकारले संविधान संशोधन गर्ने चाहना राखेको छैन । अहिलेसम्म संविधान संशोधन गर्ने कुरामा नेकपाका नेताहरूले केही पनि काम गर्नुभएको छैन । संविधान संशोधन गर्ने उहाँहरूको चाहना पनि होइन । तर पनि राजपाका नेताहरू नेकपातिर लाग्नुभएको छ । प्रदेश २ मा हामी कमजोर थियौं, तर पनि चुनावमा हामी हार्ने निश्चित थिएन । चुनाव हो, यसमा एउटा विजयी हुन्छ । अर्को पराजय हुन्छ । चुनावमा जित्ने हाम्रो प्रयास थियो । हुँदाहुँदै पनि हामीले सफलता पाउन सकेनाै । यो आमजनतााको चुनाव थिएन, जनप्रतिनिधिहरू मतदाता भएको चुनाव थियो ।

तर यसअघि कांग्रेस, राजपा र समाजवादी पार्टीबीचको समीकरणबाट कांग्रेसले एक सिट ल्याएको थियो, यसपटक पनि त्यस्तै हुन सक्दैनथ्यो र ?
– नेपाली कांग्रेसको त्यो प्रयास थियो, तर राजपाका नेताहरूले पहिले नै नेकपासँग तालमेल गर्ने निर्णय गर्नुभयो । त्यसैले त्यो सम्भव भएन ।

अन्त्यमा, सरकारको दुई वर्षको कार्यकाललाई कसरी हेर्नुभएको छ ?
– सैद्धान्तिक रूपमै कम्युनिस्ट सरकारप्रति हाम्रो असहमति छ । यो सरकारले कांग्रेसबाहेक जो जससँग पनि अपवित्र सम्बन्ध राखेको छ, राखिरहेको छ । कुनै दिन यो अपवित्र सम्बन्ध सार्वजनिक हुन्छ । त्यसपछि मधेसको नाममा व्यक्तिगत स्वार्थको राजनीति गर्नेहरू नांगिने छन् । सपना बाँड्ने सरकारका बारेमा मेरो कुनै टिप्पणी हुने छैन । भ्रम छर्ने कम्युनिस्टहरूसँग प्रतिस्पर्धा गर्नु पनि छैन । म यति भन्छु– सरकार असफलताको बाटोमा अघि हिँड्दै छ ।

तरुणबाट