‘ए’ डिभिजन लिग फुटबलः आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिग फुटबलः आज दुई खेल हुँदै

काठमाडौं, १४ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युवा क्लबबीच प्रतिस्पर्धा हुदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने आजको पहिलो खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

अहिलेसम्म एउटा पनि जित हात पार्न नसकेको सरस्वती लिगको पुछारमा छ । रेलिगेसनमा पर्ने करिब करिब निश्चित भएसकेको भएपनि बाँकी पाँच खेलमा राम्रो प्रदर्शन गर्न सके सरस्वती घटुवा हुनबाट बच्न सक्नेछ । उसको आठ खेलबाट एक अङ्क छ ।

हिमालयन शेर्पा क्लबमाथि पनि रेलिगेशनको खतरा टरेको छैन । आठ खेल सकिँदा हिमालयन शेर्पा सात अंक बनाउँदै रेलिगेसन जोनभन्दा एक स्थानमात्र माथि छ । आजै हुने अर्को खेलमा त्रिभूवन आर्मी क्लब जावलाखेल युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्समै हुने अर्को खेल दिउँसो तीन बजे सुरु हुनेछ । अहिले आर्मी शीर्ष स्थानको मछिन्द्रभन्दा दुई अङ्कले पछि छ ।

जावलाखेललाई हराएमा आर्मीले लिगमा अग्रता लिनुका साथै उपाधि होड पनि रोमाञ्चक बन्नेछ । आठ खेल सकिँदा आर्मीले पाँच जित दुई बराबरी र एक हारको नतिजा निकाल्दै १७ अङ्क बनाएको छ ।

जावलाखेल भने आर्मीलाई हराएर शीर्ष ६ मा पुग्ने लक्ष्यमा छ । अहिले आठ खेलबाट १२ अंक बनाएको जावलाखेलले आजको खेलमा जित हात पारेको खण्डमा चौथो स्थानमा उक्लिनेछ ।