कांग्रेस केन्द्रीय कार्यसमिति बैठक: १४औँ महाधिवेशनकाे कार्यतालिका सर्वसम्मत पारित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक: १४औँ महाधिवेशनकाे कार्यतालिका सर्वसम्मत पारित

काठमाडौं, माघ १३ । महाधिवेशनकाबारेमा उठेका विषयहरु टु‌ंगाउन बसेकाे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले यसअघि तोकिएकै मितिमा १४औँँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । निर्णयअनुसार नेपाली कांग्रेसको १४औँ महाधिवेशन २०७७ फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुनेछ । तल्ला निकायको अधिवेशनको कार्यतालिका भने केही परिवर्तन भएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार २०७७ कात्तिक १६ गते वडा अधिवेशन गर्ने निर्णय भएको छ । यसअघि पुस ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो ।

सोमबारको बैठकले गाउँ–नगर अधिवेशन ०७७ कात्तिक १८ गते, प्रदेशसभा अधिवेशन कात्तिक २१ गते र एउटा मात्रै प्रतिनिधिसभा क्षेत्र भएकोमा कात्तिक २३ गते अधिवेशन गर्ने निर्णय गरेको छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन कात्तिक २५ गते र प्रदेश अधिवेशन मंसिर २९ गते गर्नेगरी कार्यतालिका संशोधन भएको छ । १४औँ महाधिवेशनको संशोधित कार्यतालिका सर्वसम्मत रूपमा पारित भएसँगै कांग्रेसमा देखिएको मतान्तर सकिएकाे छ ।