चीनबाट फर्किएका दुई नेपालीमा कोरोना भाइरसको आशंका

चीनबाट फर्किएका दुई नेपालीमा कोरोना भाइरसको आशंका

काठमाडौं, १२ माघ । दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ । कोरोनाको आशंका गरिएका पुरुष २८ वर्ष र महिला ४८ वर्षका रहेको अस्पतालले जनाएको हो ।

टेकु अस्पतालको आइसुलेसन वार्डमा उपचार गरिरहेका उहाँहरु दुवैजना चीनबाट फर्किनु भएको हो । कोरोनाको शंका लागेर अस्पताल पुगेका महिला हिजो टेकु अस्पताल पुग्नुभएको थियो भने अर्काे पुरुष अस्ति अस्पताल पुग्नुभएको थियो । चीनबाट फर्किने परामर्शका लागि अस्पताल आइरहेका र तीमध्ये दुइ जनालाई आशंका गरेर उपचार थालिएको अस्पतालले जनाएको हो ।

ती महिला चिनमा आयोजित एक कार्यक्रमबाट फर्कीनुभएको थियो भने पुरुष विदेशबाट नेपाल फर्किदाँ चीन ट्रान्जिट हुँदै आउनुभएको थियो । उनीहरुको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको र रिपोर्ट आएपछि मात्र पूर्ण रुपमा कोरोना संक्रमणबारे एकिन हुने अस्पतालले जनाएको छ । गत शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै चीनको वुहानबाट हालै फर्केका एक नेपाली विद्यार्थीमा सङ्क्रमण देखिएको बताएको थियो । तर ती व्यक्ति हाल निको भएर घर फर्किसकेको बताइएको छ । उहाँको परिचय खुलाइएको छैन ।