‘ए’ डिभिजन लिग फुटबलः आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिग फुटबलः आज दुई खेल हुँदै

एजेन्सी । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज आठौं चरणको अन्तिम खेलहरु हुँदैछन् । पहिलो खेलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने छ । दशरथ रंगशालामा हुने यी दुई टोलीबीचको खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । तालिकाको शीर्ष स्थानमा रहेको आर्मीले आजको खेल जिते थप ३ अङ्क जोड्नेछ ।

एनआरटी भने ११ अङ्कको साथमा सातौं स्थानमा छ । आजको खेलमा एनआरटी विजयी भए चौथो स्थानमा रहेको थ्रीस्टारसँग अङ्क बराबरी गर्ने छ । आर्मी र एनआरटी बराबरीमा रोकिए आर्मीले १ अङ्कको अग्रता लिने छ भने एनआरटीले पाँचौं स्थानमा जावलाखेलसँग अङ्क बराबरी गर्ने छ । प्रतियोगिता अन्तर्गत आज हुने दोस्रो खेलमा फ्रेण्ड्स र संकटाबीच प्रतिस्पर्धा हुनेछ । यी दुवै टोलीबीचको खेल दशरथ रंगशालामै दिउँसो ३ बजे सुरु हुनेछ । फ्रेण्ड्स जारी लिगमा ११ औं स्थानमा छ भने संकटा नवौं स्थानमा छ । आजको खेलमा फ्रेण्ड्स विजयी भए आठौं स्थानमा पुग्ने छ भने संकटा विजयी भए छैटौं स्थानमा उक्लने छ ।