काँग्रेस महाधिवेशन तोकिएकै मितिमा हुने

काँग्रेस महाधिवेशन तोकिएकै मितिमा हुने

काठमाडौं, ११ माघ । नेपाली काँग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा हिजो बसेको शीर्ष नेताको बैठकबाट यस्तो सहमति जुटेको हो ।

शीर्ष तहमा भएको सहमतिलाई केन्द्रीय समितिबाट टुङ्ग्याउन सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । शीर्ष नेताबीचको हिजोको बैठकबाट काँग्रेसको १४ औं महाधिवेशन पुष ११ गतेको काँग्रेस केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार २०७७ फागुन ७ देखि १० गतेसम्म हुने भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

महाधिवेशनको मिति बहुमतको आधारमा तोकिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेको थियो । काँग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुने सहमति भए पनि तल्ला तहका अधिवेशनको कार्यतालिका भने परिमार्जन हुने भएको छ ।

महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले आज तल्ला तहको अधिवेशनका लागि कार्यतालिकाको मस्यौदा तय गर्ने समेत सहमति भएको मुख्य सचिव पौडेलले जानकारी दिनुभयो । शीर्ष नेताहरुबीच हिजो भएको छलफलले काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा सभापतिले तोकेको व्यक्ति हुने सहमति गरेको छ । सभापति देउवाले यसअघिकै बैठकमा राजीब ढुंगानाको नाम नेविसंघ अध्यक्षका लागि प्रस्ताव गर्नुभएको थियो ।