

काठमाडौ, १० माघ । काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महिलाको अपमानको अन्त्य गर्न ५० प्रतिशत महिला अबको निर्वाचनमा प्रमुखको रुपमा आउनुको विकल्प नभएको बताउनुभएको छ । शुक्रबार महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले काठमाडौमा आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले आयोजना गरेको सामाजिक परिक्षण कार्यक्रममा बोल्दै काठमाडौ महानरपालिकाकी उपमेयर खड्गीले स्थानीय तहका उपप्रमुखलाई केही अधिकार दिइए पनि त्यो पर्याप्त नभएको बताउनुभयो । उहाँले महानगरको प्रमुखको अपमानमा बसेर काम गर्न निकै कठिनाई हुने गरेको समेत बताउनुभयो ।
अहिले धेरै स्थानीयतहहरुमा प्रमुखहरु पुरुष रहेको र प्रमुखहरुले उपप्रमुखहरुलाई अपमान गर्ने गरेको भन्दै उपमेयर खड्गीले राजनीतिक रुपमा महिला अगाडि नबढेसम्म महिलाको आवाज अगाडि आउन नसक्ने उल्लेख गर्नुभयो ।

त्यस्तै उहाँले संविधानले नै आमा वा बुवाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएकाले काठमाडौ महानगरका ३२ वटै वडाका अध्यक्षहरुलाई राखेर प्रशिक्षण दिन आवश्यक रहेकोले छिटै प्रशिक्षणको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो । साथै उहाँले महिलाले श्रीमानको नामबाट नागरिकता लिन हुन्छ भने श्रीमानले श्रीमतीको नामबाट नागरिकता लिन पनि हुने बताउनुभयो ।
महिलाले पाउने अधिकारबाट वञ्चित नगर्न महिलाहरुलाई पनि महिला अधिकारसम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
महिला कानुन र विकास मञ्चले सन् २०१९ मा काठमाडौ जिल्लाबाट मात्र बाबु नभएकाहरु १३ जनालाई कानुनी मुद्दा लडेर नागरिकता प्रदान गरेको मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले कार्यक्रममा जानकारी दिनुभयो । श्रेष्ठले संस्थाले गत वर्ष सम्पन्न गरेका सामाजिक कामहरुको फेहरिस्त प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, महिला आयोग, समाज कल्याण परिषद्लगायतका प्रतिनिधिहरुले महिला कानुन र विकास मञ्चले गरेका सामाजिक कामहरुको प्रशंसा गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व महिला कानुन विकास मञ्चकी अध्यक्ष अधिवक्ता मीरा ढुंगानाले गर्नुभएको थियो ।