नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

काठमाडौं, १० माघ । चीनमा आतंक मच्चाएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ ।’

मन्त्रालयले कोरोना भाइरस संक्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कतासमेत अपनाएको जनाएको छ । शंकास्पद विरामीको रिपोर्टिङ गर्ने फारम र रोगबारेको सूचना सामग्री सबैले पाउने गरी उपलब्ध गराइसकेको जनाइएको छ ।

मन्त्रालयले चीनबाट नेपाल आउने हरेक विमानहरुमा यात्रुको स्वास्थ्यसम्बन्धी फाराम भरी विमानस्थलमा पेश गर्नुपर्ने व्यवस्थासमेत गरेको जनाएको छ ।