राष्ट्रिय सभाको सबै निर्वाचन उल्टाएर देखाउन कांग्रेस प्रवक्ताको चेतावनी

राष्ट्रिय सभाको सबै निर्वाचन उल्टाएर देखाउन कांग्रेस प्रवक्ताको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्व सरकारले सुरुवातमा नै प्रमुख प्रतिपक्षसँग दूरी बढाउने काम गरेको बताएका छन्। उनले राष्ट्रिय सभामा देउवा सरकारले गरेको तीन जनाको सिफारिस उल्ट्याएका आपत्ति जनाए। प्रवक्ता शर्माले अघिल्लो सरकारले गरेका निर्णय अनुमोदन गर्न ढिलाई गर्ने र ओली सरकारले गरेको निर्णय तत्काल अनुमोदन गर्ने राष्ट्रपतिको कार्य प्रति पनि रोष प्रकट गरेका छन्।

‘राष्ट्रपतिले एउटा सरकारको निर्णयलाई एउटा चश्माले हेर्ने अर्को सरकारको निर्णयलाई अर्को दृष्टिले हेर्नुले कस्तो सन्देश दिन्छ’, उनले भने, ‘अघिल्लो सरकारको निर्णय अनुमोदन गर्न महिनौ लाग्ने, यो सरकारले निर्णय गर्न नपाउFदै अनुमोदन गने, यस्तो पनि राष्ट्रपतिले गर्न मिल्छ ?’

प्रवक्ता शर्माले देउवा सरकारका निर्णय खारेज गर्ने भए सबै राष्ट्रिय सभाको निर्णय बदर गरेर देखाउन चेतावनी दिए। उनले भने,‘ काम चलाउ सरकारले गरेका निर्णय खारेज गर्ने हो भने राष्ट्रिय सभाका सबै निर्वाचन उल्ट्याउनु पर्‍याे, नत्र तीन जनाको मनोनयनमा मात्र त्यो कसरी लागु हुन्छ ।’ उनले राष्ट्रिय सभामा तीनजना सिफारिसको निर्णय बदर गर्ने कुनै तर्कयुक्त कारण ओली सरकारसँग नभएको जिकिर गरे। उनले स्थानीय, प्रतिनिधि सभा, प्रदेश सभा र राष्ट्रिय सभाको सबै निर्वाचन सम्पन्न गरेर देउवा सरकारले सत्ता छाडेको बताए।

देउवा सरकारले राष्ट्रिय सभामा अधिकारकर्मी चाँदनी जोशी, झापाका कांग्रेस नेता गोपाल बस्नेत र कांग्रेसको केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो। देउवा सरकारको उक्त सिफारिस उल्ट्याएर वर्तमान सरकारले पूर्व गर्भनर डा. युवराज खतिवडा, अधिवक्ता रामनारायण विडारी र अधिकारकर्मी डा. विमला पौडेल(राई)लाई सिफारिस गरेका छन्। मंगलबार बिहान गरेको सिफारिस दिउँसो नै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरी तीनै जनालाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेकी छन्। कांग्रेस प्रवक्ता शर्माले अघिल्लो सरकारको निर्णय बदर न्यायिक निरोपणको विषय समेत भएको बताए।

कांग्रेस प्रवक्ता शर्माले वर्तमान सरकारले लोकतन्त्रको खिल्ली उडाएको आरोप समेत लगाए। यसैबीच कांग्रेसले पत्रकार सम्मेलन नै गरेर सरकारको आलोचना गरेको छ। प्रवक्ता शर्माले सुरुवाती निर्णयले नै प्रतिपक्षसँग दूरी बढाएको बताए। उनले प्रतिपक्षलाई भन्दा सरकारलाई प्रतिपक्षको सहयोग जरुरी पर्ने बताए। उनले भने, ‘सरकारलाई प्रतिपक्षको साथ नचाहिने हो भने बेग्लै कुरा हो, नत्र प्रतिपक्षलाई भन्दा सत्तापक्षलाई प्रतिपक्षको सहयोगको आवश्यकता पर्छ।’ -अन्नपूर्ण पोष्टबाट