काङ्ग्रेस शिर्ष नेताहरूको बैठक देउवा निवास बुढानीलकण्ठमा बस्दै

काङ्ग्रेस शिर्ष नेताहरूको बैठक देउवा निवास बुढानीलकण्ठमा बस्दै

काठमाडौं, ८ माघ । नेपाली काङ्ग्रेस भित्रको आन्तरिक रुपमा उठेका विविध विषयहरुको सहज समाधान गर्न आज शीर्ष नेताहरुको बैठक बस्दैछ । काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजे नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका नेताहरु छलफल हुन लागेको एक नेताले बताएका छन् ।

उपसभापति विमलेन्द्र निधि सहित पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौलाबीच गएको सोमबार भएको छलफल अनुसार देउवा र पौडेल समेतको उपस्थितिमा सहमतिको प्रयासमा नेताहरू जुट्न लागेका हुन् ।

दोस्रो तहका नेताले पार्टीको १४ औं महाधिवेशनको मिति राखेर तल्लो तहका अधिवेशनका कार्यतालिका संशोधन गर्ने समझदारी गरेका छन् । तर, त्यसलाई शीर्ष नेताकै सहभागितामा अन्तिम निर्णय दिने र त्यो बैठक सभापतिले बोलाउने उनीहरूबीच समझदारी बनेको थियो ।

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले यसअघि २०७७ फागुन ७ देखि १० गतेसम्म १४ औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । तल्लो तहको अधिवेशनको कार्यतालिका कति र कहिलेका लागि तोक्ने भन्ने विषय भने टुंगो लाग्न बाँकी छ ।