काठमाडौँ, ७ माघ । ‘समानताको पुस्ता, प्रतिबद्ध युवा दस्ता’ भन्ने नारासाथ दुईदिने राष्ट्रिय युवा सम्मेलन आजदेखि राजधानीमा शुरु भएको छ । सम्मेलनमा समाज रुपान्तरणमा युवाको योगदान तथा अपरिहार्यताबारे छलफल हुनाका साथै लैङ्गिक समानता, महिला सशक्तिकरण र हिंसा न्यूनीकरणका क्षेत्रमा युवा परिचालन गर्नेबारे छलफल चलेको छ ।
लैङ्गिक समानताका क्षेत्रमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रयासका महत्वपूर्ण उपलब्धिलाई छलफलमा विषय बनाइएको छ । सम्मेलनको उद्घाटन गर्दै एसिड पीडित १४ वर्षीय मुस्कान खातुनले महिला भएकै आधारमा कोही पनि कुनै पीडामा पर्ने वातावरण अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
आफूलाई समाजमा बाहिर निस्कन नदिने अभिलाषाका साथ अपराधीले एसिड प्रहार गरेको भए पनि उसलाई चुनौती दिन आफू जस्तै एसिड पीडितको पक्षमा आवाज उठाउन देशैभर पुग्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । “जस्ले एसिड छ्याप्यो उसले मलाई समाजमा बाहिर निस्कन नदिने उद्देश्य राखेको थियो तर उसको उद्देश्य पूरा हुन नदिन म आफू जस्तै पीडितका लागि आवाज उठाउँछु”, उहाँले भन्नुभयो ।
खातुनले प्रदेश २ सरकारले चलाइरहेको ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियानप्रति लक्षित गर्दै पहिला पढ्न जाने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो, “दोषीलाई कडाभन्दा कडा सजाय भए पो हामी निर्धक्कसँग पढ्न सक्छौँ ।” खातुनले सरकारले आफूजस्तै एसिड पीडितका लागि शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सुशासन समितिको सभापति शशी श्रेष्ठ, महिला अधिकारकर्मी बन्दना राणा, दुर्गा घिमिरे, मेधा शर्मा लगायतले महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि भए पनि अझै समानता हात पर्न नसकेको बताउनुभयो ।
राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा साथी, जागृति बाल तथा युवा सरोकार नेपाल र बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालले संयुक्त रुपमा सम्मेलन आयोजना गरेको हो । बुधबारसम्म चल्ने सम्मेलनमा ७७ जिल्लाका २०० युवाको सहभागिता छ । सम्मेलन युवाको आह्वान र प्रतिबद्धता सहितको घोषणापत्र तयार पारेर सरोकार भएका निकायलाई हस्तान्तरण गर्दै बुधबार सम्पन्न हुनेछ ।