भिडियोमार्फत जोडिँदै प्रधानमन्त्री ओली र मोदीले आईसीपीको उद्घाटन गर्दै

भिडियोमार्फत जोडिँदै प्रधानमन्त्री ओली र मोदीले आईसीपीको उद्घाटन गर्दै

विराटनगर,७ माघ । नेपाल–भारत सीमाको बुधनगर र भारततर्फको जोगबनीमा निर्माण सम्पन्न भएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) तथा नुवाकोट र गोरखामा पुनर्निमित आवास घरहरूको आज प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा डिजिटल स्विच थिचेर उद्घाटन गर्ने भएका छन् ।

भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजे प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीबाट संयुक्त रूपमा आईसीपीको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आईसीपीको निर्माण निक्कै प्राथमिकतासाथ थालिएको थियो । तर, भारतमा निर्माण भइ सञ्चालनमा आएको तीन वर्षपछि मात्र नेपालतर्फ निर्माण पूरा भएको हो ।भारततर्फको संरचना तयार भइ सञ्चालनमा आइसकेको छ ।

नेपालतर्फ ढिलो गरी तयार भएको हो । जग्गा अधिग्रहणलगायत विवादले नेपालतर्फ ढिलासुस्ती हुन पुगेको थियो ।भारतको बथनाहाबाट कार्गो रेल ल्याउन आईसीपीसम्म रेल्वे लाइन पनि निर्माण भइसकेको छ । दुई वर्षअघि नै रेल ल्याएर परीक्षणसमेत भएको थियो ।

नेपाल–भारतबीच सन् २००९ मा सीमा नाकामा दुरुस्तै प्रकृतिको भौतिक पूर्वाधारसहितको भन्सार चौकी निर्माण गर्ने सहमति भएको हो । विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवामा पनि चौकी निर्माण भएका छन् ।

आईसीपीको भौतिक संरचना निर्माण गर्ने दायित्व भारतको हुने सम्झौता थियो । सोहीअनुरुप भारत सरकारको २ अर्ब १० करोड लागतमा निर्माण भएको हो । एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि वस्तुको लागत मूल्य कम हुने भएकाले उपभोक्ता समेत लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रतिछायाको रुपमा दुबैतर्फ भएको भन्सार चौकीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सिसिटिभी, पार्किङ, रेस्टुरेन्ट, बैंक र अन्य सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ ।