सिन्धुपाल्चोकको चौतारा-४ कुबिन्डे टोलमा बुवा धनपति सापकोटा र आमा तिलमाया सापकोटाको कोखबाट २०१४ फागुन २४ गते अग्निप्रसाद सापकोटाको जन्म भएको थियो।
गाउँकै श्रीकृष्ण विद्याश्रमबाट औपचारिक पठनपाठन शुरु गरी सापकोटाले त्यही विद्याश्रमबाट एसएलसी उतीर्ण गरेका थिए। समाजशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका सापकोटाले १६ वर्ष शिक्षक भएर बिताएका थिए। वि.सं. २०३२ देखि शिक्षण पेशा शुरु गरेका सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा पढाएका थिए। शिक्षण पेसामा रहँदा पनि उनी राजनीतिमै सक्रिय थिए।
विद्यार्थीकालदेखि नै नेतृत्व गर्ने स्वाभावका उनले शिक्षक हुँदा पनि विभिन्न शैक्षिक तथा राजनीतिक आन्दोलनको नेतृत्व गरेका थिए। त्यस्तै, विद्यालयको प्रधानाध्यापक भएर पनि उनीले लामो समय बिताए।।
वि.सं. २०३६ सालको जनमत संग्रहपछि शिक्षक संघर्ष समितिको जिल्ला उपाध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्षसम्म भएका उनले शिक्षण सँगसँगै राजनीतिलाई पनि अगाडि बढाए। वि.सं. २०२९ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक जीवनको शुरु गरेका सापकोटा कुनै बेला शिक्षकको रुपमा विद्यार्थीहरुलाई शिक्षादीक्षा दिने र पञ्चायती राजका विरुद्ध राजनीतिक चेतना दिने राजनीतिक गुरुका रुपमा पनि रहे।
शिक्षण पेशामै रहँदा शिक्षक संघर्षको क्रममा पटक-पटक गिरफ्तारी, हिरासत र काराबासको जीवन भोगेका उनले लगातार लामो समय भने २०४२ बैशाखदेखि असोजसम्म ६ महिना बन्दि जीवन बिताउनु परेको थियो। २०४८ सालमा शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा पूर्णकालीन भएका उनी त्यही वर्ष नै संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य भएका थिए।
२०४८ सालमै संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेद्वार बनेका उनी पराजित हुनुपरेको थियो। २०५१ सालमा तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय सदस्य बनेका सापकोटा २०६९ मा तत्कालीन एकीकृत नेकपा (माओवादी)को हेटौंडा महाधिवेशनबाट पोलिटव्यूरो सदस्य र विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्य हुँदै पार्टी केन्द्रीय कार्यालय सदस्यसम्मको जिम्मेवारी पूरा गरे।
हाल नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य छन्। २०६० सालमा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्यसमेत रहेका सापकोटा जनयुद्धकालमा २०६२ चैत्र १४ गते सिन्धुपाल्चोकको ठोकर्पामा भएको भिडन्तमा तीन गोली लागेर घाइते भएका थिए।
संविधानसभा निर्वाचनमा आफ्ना प्रतिस्पर्धीलाई धेरै मतान्तरले जित्ने १० मध्ये सापकोटा एक हुन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिका संयोजकसमेत रहेका सापकोटा तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रवक्ता समेत थिए ।
साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट २०६४ र २०७० सालमा दुई पटक नै संविधानसभा सदस्यमा ठूलो मतान्तरले विजयी सापकोटा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए।
२०६८ वैशाख २२ गते सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका सापकोटाले २०७२ कार्तिक १ गतेदेखि वन तथा भू-संरक्षणमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए। विचार र दृष्टिकोणमा प्रष्ट सापकोटा जिल्लामा लोकप्रिय मानिन्छन्।
माओवादी आन्दोलनमा लागिसकेपछि अहिलेसम्म पार्टी नेतृत्वको रक्षा, पार्टी निर्णयको बलियो समर्थन र कार्यान्वयनमा खट्ने सापकोटालाई अध्यक्ष प्रचण्डको विश्वासपात्रका रुपमा लिइन्छ। सापकोटा प्रचण्डकै अडानका कारण सभामुख बन्न लागेका हुन्। प्रतिनिधिसभामा नेकपाको स्पष्ट बहुमत छ। यस्तोमा सापकोटा निर्विवाद सभामुख बन्ने छन्। उनले भोलिबाटै सुरु हुने प्रतिनिधिसभाको बैठकसँगै सभामुखको जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढ्नेछ।
भावी सभामुखका लागि नेकपाले अघि सारेका सापकोटालाई सर्वोच्च अदालतको संवैधानिक इजालसमा विचाराधीन मुद्दाले झमेलामा पार्न सक्ने अवस्था छ। द्वन्द्वको समयमा काभ्रेका अर्जुन लामा हत्याकाण्डमा मुछिएका सापकोटाविरुद्धको मुद्दा लामो समय चलेको थियो। त्यस मुद्दालाई टुंग्याउने जिम्मेवारी संवैधानिक इजालासलाई तोकिएको छ।
गत असार १५ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटाविरुद्ध सत्य निरुपण आयोगमा उजुरी परेको वा नपरेको सोधेको थियो। उजुरी परेको भएमा त्यसको प्रतिलिपि दिन अदालतले आदेश दिएको थियो। त्यसबेला प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आदेश गरेको थियो।
२०७२ साल चैत २२ गते तत्कालीन न्यायाधीशहरु सुशीला कार्की र ओमप्रकाश मिश्रले सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासबाट निरुपण गर्न भनेको थियो। त्यसपछि यो मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ।
भावी सभामुख सापकोटाविरुद्ध एउटा कर्तव्य र अर्को अदालतको अवहेलना मुद्दा चलेको छ। यी दुई मुद्दाको निरुपणको तयारीमा छ संवैधानिक इजलास। त्यहीकारण अदालतले सत्यनिरुपण आयोगसँग उजुरीबारे पत्र खोजेको थियो।
सापकोटाविरुद्ध परेको उजुरीमा २०६२ वैशाख १६ गते काभ्रेको छत्रबासका अर्जुन लामालाई अपहरण गरी लगेको आरोप छ। अपहरित लामाको शव दुई महिनापछि शव काभ्रेकै बुढाखानी गाविसमा फेला परेको थियो।
यही प्रकरणमा लामा पत्नी पूर्णिमायाले सापकोटासहित नेकपाका नेता सूर्यमान दोङविरुद्ध पनि मुद्दा हालेकी थिइन्। यो मुद्दालाई अन्तिम पटक यही असोज २९ गते पेसीमा राखिएको थियो। तर न्यायाधीशहरुले हेर्न नभ्याइने भनेर सुनुवाइ सारेका थिए।
संवैधानिक इजलासमा मुद्दा चलिरहेका बेला सभामुखमा प्रस्तावित सापकोटमाथि कानुनी प्रश्न उठ्ने जोखिम पनि छ। अदालतमा मुद्दा विचाराधीन रहेको तथा सत्यनिरुपण तथा मेलमिलाप आयोग पनि निष्कृय रहेको बेलामा सापकोटा सभामुखमा प्रस्तावित भएका छन्। यदि सभामुख चयन भएमा उनीमाथि अदालतबाट कानुनी चुनौती खडा हुन सक्ने अवस्था उत्तिकै छ।
जन्म मिति-स्थानः २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुबिन्डे गाउँ
आमाको नामः तिलमाया सापकोटा
बुवाको नामः धनपति सापकोटा
स्थायी ठेगानाः चौतारा साँगाचोकगढी नगरपालिका-४, सिन्धुपाल्चोक
शैक्षिक योग्यता: स्नातक, त्रिभुवन विश्वविद्यालय
पारिवारिक अवस्था: श्रीमती, तीन छोरा
१५ वर्ष अध्यापन, (७ वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक)
पार्टी सदस्यता मिति र पार्टीको नामः
वि.सं. २०३५ साल नेकपा (चौथो महाधिवेशन)
पार्टी जिम्मेवारीः
स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
राजकीय जिम्मेवारीः
वि.सं. २०६४-चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निकटतम प्रतिद्धन्द्धीभन्दा २० हजार बढी मत (३०,१७५) ल्याइ निर्वाचित । देशभरि सर्वाधिक मत ल्याउने सातौं उम्मेद्वार । संविधानसभा सदस्यका रुपमा संविधान निर्माणमा सक्रियतापूर्वक क्रियाशाील ।
वि.सं. २०६८-वैशाख २२ गते नेपाल सरकारको सूचना तथा संचार मन्त्री
वि.सं. २०७०-सिन्धुपाल्चोक–२ वाट दोस्रो पटक संविधान सभा सदस्यमा निर्वाचित तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा(माओवादी) बाट विजयी एकमात्र सांसद ।
वि.सं. २०७३-नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्री
वि.सं. २०७४-प्रतिनिधि सभा सदस्यमा विजयी, सिन्धुपाल्चोक–१, लगातार तीनपटक संसद सदस्यमा विजयी (ह्याट्रिक)
वि.सं. २०२९-सालमा विद्यार्थी संगठनमा आवद्व,
वि.सं. २०३५-पार्टी सदस्यता (नेकपा चौथो महाधिवेशन),
वि.सं. २०३७-शिक्षक संर्घष समितिको सदस्य (ने.रा.शि.सं) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै ने.रा.शि.सं को केन्द्रीय महासचिव र उपाध्यक्ष,
वि.सं. २०४८-मा शिक्षकवाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा सकृय, २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य,
वि.सं. २०५१-मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य, २०५२ माघदेखि भूमिगत,
वि.सं. २०५२-फागुनवाट शुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रिय व्यूरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनवाट पोलिट्व्युरो सदस्यमा निर्वाचित,
वि.सं. २०५८-पार्टीवाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी,
वि.सं. २०६२-चैत्र १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली ३ ठाँउमा लागेर गम्भीर घाइते
वि.सं. २०६२/२०६३-दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जनतालाइ जनआन्दोलनमा परिचालनको नेतृत्व
वि.सं. २०६९-साल माघमा भएको एकीकृत नेकपा (माओवादी) को हेटौडा महाधिवेशनवाट पोलिट्व्युरो सदस्य
वि.सं. २०६९-साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता
वि.सं. २०७१-मा भएको विराटनगर सम्मेलनवाट स्थायी समिति सदस्य
वि.सं. २०७३-नेकपा (माओवादी केन्द्र)को कार्यालय सदस्य
वि.सं. २०७५-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य