‘ए’ डिभिजन लिग फुटबलः फ्रेन्ड्स र एनआरटी बिजयी

‘ए’ डिभिजन लिग फुटबलः फ्रेन्ड्स र एनआरटी बिजयी

काठमाडौं, ५ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा फ्रेन्ड्सले पुछारको क्लब सरस्वती युथ क्लबलाई ४–१ गोल अन्तरले हराएको हो । फ्रेन्ड्सलाई जित दिलाउन उत्तम राईले दुई गोल गर्नुभयो । यस्तै साउलो डी अक्विनो र वाग्नेर डो कार्मोले एक एक गोल थप्नुभयो । सरस्वतीका कजिम बुसारीले एक गोल फर्काउनुभयो ।

सरस्वतीलाई हराएसँगै फ्रेन्ड्सले लिगमा दोस्रो जित निकालेको छ । जितसँगै फ्रेन्ड्सले ७ खेलमा ८ अंक जोडेको छ । फ्रेन्ड्स लिगको नवौं स्थानमा समेत उक्लिएको छ । सरस्वतीको लिगमा यो छैटौं हार हो । लिगको पुछारमा रहेको सरस्वतीले १ अंक जोडेको छ । यस्तै आजै भएको अर्को खेलमा एनआरटीले विभागीय टिम एपीएफ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।

एनआरटीलाई जित दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक एक गोल गर्नुभयो । एपीएफका आशिष लामाले दुई गोल फर्काउनुभयो । जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले ७ खेलमा ११ अंक जोडेको छ । एपीएफ ७ खेलमा ५ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।