सभामुख बारे निर्णय गर्न नेकपा सचिवालय बैठक शुरु

सभामुख बारे निर्णय गर्न नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ५ माघ । नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्‍त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार बिहान भएको छलफलपछि सभामुख चयनको विषय अनुमोदन गर्न सचिवालय बैठक बसेको हो । तत्कालीन माओवादीको भागमा सभामुख भएकोले माओवादीबाटै सभामुख चयन गर्ने सहमति भएको छ । सभामुखका लागि अग्नि सापकोटाको नाममा दुई अध्यक्षबीच सहमति बनेको बताइएको छ । यस सचिवालय बैठकले दुवै अध्यक्षको सहमतिलाई औपचारिकता दिने बताइएको छ ।

बालुवाटार वार्तापछि अध्यक्ष प्रचण्डले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतसँग समेत छलफल गरेका छन् । सचिवालय बैठकमा नेता सापकोटाको नाम सभामुखको उम्मेदवारको रुपमा पेस गर्ने तयारी प्रचण्डले गरेका छन् ।

सभामुख चयनमा पार्टीभित्रको आन्तरिक किचलोका कारण झन्डै एक महिना संसद बन्धकजस्तै भएको छ। पार्टी सचिवालयले सभामुखको नाम टुंगो लगाएपछि स‌ंसदको भोलिको बैठकमा सभामुख निर्वाचनसम्बन्धी कार्यक्रम पेस गर्ने तयारी छ ।

सभामुखका लागि नेकपाभित्रैबाट सुवास नेम्वाङ, उपसभामुख शिवामाया तुम्बाहाङफेको नाम पनि चर्चामा छ। सभामुखका लागि दाबेदारी गर्दै आएकी उपसभामुख शिवामायालाई राजीनामा दिन पार्टीले औपचारिक रुपमा निर्देशन दिइसकेको छ ।