प्रतिनिधिसभाको बैठक सूचारु नभए राष्ट्रियसभाको बैठक बहिष्कार गर्ने कांग्रेसको चेतावनी

  • 8
    Shares
प्रतिनिधिसभाको बैठक सूचारु नभए राष्ट्रियसभाको बैठक बहिष्कार गर्ने कांग्रेसको चेतावनी

काठमाडौं, ५ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक सूचारु नभए राष्ट्रियसभाको बैठक पनि बहिष्कार गर्ने चेतावनी दिएको छ ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकको विशेष समयमा कांग्रेस सांसद रमेशजंग रायमाझीले प्रतिनिधिसभालाई सत्तारुढ नेकपाले बन्धक बनाएको आरोप लगाउदै सोमबारको प्रतिनिधिसभाको बैठक सूचारु नभए आफुहरुले राष्ट्रियसभाको बैठक नै बहिष्कार गर्ने चेतावनी दिनुभयो । उहाले प्रतिनिधिसभा बैठक बस्न नसक्दा जनताको अधिकार नै हनन भएको तर्क गनुृभयो । त्यस्तै उहाले प्रधानमन्त्री ओली प्रधानमन्त्री कार्यालय सिंहदरवार आउन छोडेर सरकारी निवास बालुवाटारबाटै शासन चलाईरहेको आरोप पनि लगाउनुभयो । आफ्नो कार्यालयबाट दैनिक कार्यसञ्चालन गर्न नसके सिंहदरबारको प्रधानमन्त्री कार्यालय बन्द गर्न उहाले सुझाव दिनुभयो । त्यस्तै उहाले यती होल्डिङ्सले दिएको भन्दा ५० करोड बढी आफूले तिर्ने भन्दै गोकर्ण रिसोर्टको जग्गा लिजमा आफूलाई दिन प्रस्ताव गर्नुभयो ।

सांसद रायमाझीले आफूहरुले देशको प्रधानमन्त्रीका रुपमा देख्न चाहेको तर ओलीले एउटा निजी कम्पनीको कार्यकारी निर्देशकले झै काम गरेको आरोप लगाउनुभयो ।बैठकमा सांसद कोमल वलीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लाई संसदबाट पारित गर्नुपर्ने बताउनुभयो । एमसिसीलाई सबै राजनीतिक दलले समर्थन गरिसकेकाले अब संसदबाट पारित गरिनुपर्ने उहाको भनाई छ ।

त्यस्तै सांसद बिमला राई पौडेलले आफ्नो जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई बर्खास्त गरेर काम गर्ने कर्मचारी करारमा भर्ना गर्न माग गर्नुभयो । एक पटक लोकसेवा पास गरेपछि जीवनभर कामै नगरी जागिर खान पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने उहाको भनाई छ ।सांसद राजकुमार कुँवरले १० वर्षे सशस्त्र द्वन्द्वकै कारण मुलुकमा गणतन्त्र स्थापना भएको भन्दै घाइते योद्धालाई बेवास्ता गरिएको गुनासो गर्नुभयो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशु मधेशी गुरुङले ‘संघ,प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक,२०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो । यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रस्ताव गर्नुभएको ‘रेल्वे विधेयक,२०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको ‘अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धी अन्तर्गतको पार्लेमो अभिसन्धी’स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउसो १ बजे बोलाइएको छ।