सकियो दरबार हाईस्कुल पुनः निर्माणको काम

सकियो दरबार हाईस्कुल पुनः निर्माणको काम

काठमाडौं, ४ माघ । रानीपोखरीस्थित ऐतिहासिक दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिएको छ । आवरणमा पुरानै ‘दरबार हाई स्कुल’ हो, कि जस्तो लागे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरी केही दिनअघि निर्माण सम्पन्न गरिएको छ ।

निमाण कार्य पूरा गरे पनि निर्माण कम्पनीका पदाधिकारीले एक पटक अनुगमन गर्नुपर्ने र उहाँहरु माघको तेस्रो साता आउने हुँदा यो महिनाको अन्तिम सातामात्रै सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम सकेर आँगन सफा गर्ने र झ्याल ढोका पुछ्ने काम गरी थप चिटिक्क बनाउने कार्य भइरहेको छ ।

भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिले जस्तै नै देखिन्छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ । शुरुको समयदेखि १९ महिनामा सक्नेगरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरी सम्पन्न गरेका हुन् । रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चार तले र ४० कक्षाकोठाको छ ।

उक्त भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सम्पन्न गरिएको बताए । “माघ अन्तिम साता सरकारलाई हस्तान्तरण हुन्छ”, उनले भने । विसं २०७२ मा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको उक्त हाई स्कुलको पुनःनिर्माणको शिलान्यास २०७५ साउन १८ गते गरिएको थियो ।

विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था गरिएको थियो । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्दति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ ।

शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । दरबार हाईस्कुलको पुनःनिर्माणले त्यस आसपासलाई पनि सुन्दर बनाएको छ । सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्यामा भने कमी छ । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेका संस्कृत माविका प्राध्यापक बद्री दाहाल बताउछन् ।

भूकम्पअघि उक्त भवनमा भानुमावि र संस्कृतमावि दुबै सञ्चालित थिए । हाल ती दुवै विद्यालयमा गरी ३०० मात्र विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन् । ती विद्यार्थीलाई अहिले बाल्मिकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ । लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्शापासका विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको काम शुरु भएको थियो ।
पछिल्लो सयम सरकारले स्थानीय तहलाई जिम्मा दिने गरी दरबन्दी मिलान, विद्यार्थी र शिक्षक सङ्ख्याका आधारमा एकापसमा विद्यालय गाभ्ने विषयलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । शिक्षकको सङ्ख्याका आधारमा

विद्यार्थी अनुपात सो विद्यालयमा पनि कम छ । एउटा मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रका प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी मान्यता छ ।

चिनियाँ सरकारसँग भूकम्पका कारण अतिप्रभावित १४ जिल्लाका एक–एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । भूकम्पका कारण सात हजार ५०० विद्यालयमा क्षति पुगेको थियो ।