काठमाडौं, ४ माघ । गत ३ दिनदेखि परिरहेको हिउँदे झरीका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । वर्षाका कारण हिमाली तथा पहाडी जिल्लाहरुमा हिमपात भएको छ । हिमपातका कारण सूदुरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
उपत्यकासहित देशका अधिकांश स्थानमा हिजो दिनभरी र राति पनि वर्षा भयो । मौसमविद्काअनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हँुंदै गइहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली भई १÷२ स्थानमा वर्षा र हिमपात भईरहेको छ ।
महाशाखाले मौसमको पूर्वानुमान बुलेटिन निकाल्दै भनेको छ, ‘आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी तथा तराई भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।’ आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली भई पहाडी भूभागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ ।