काग्रेस संसदीय दलको बैठक निर्णय : एमसीसी सम्झौता पारित गर्न सदनमा दबाब दिने

काग्रेस संसदीय दलको बैठक निर्णय : एमसीसी सम्झौता पारित गर्न सदनमा दबाब दिने

काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको जारी अधिवेशनबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी पारित गर्न दबाब दिने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी संसदको जारी अधिवेशनबाट तत्काल पारित गर्न दबाब दिने निर्णय गरेको हो । कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरन्द्रराज पाण्डेले बैठकमा एमसीसीका बारेमा छलफल भएको र यसलाई पारित गर्नका लागि दवाव दिने निर्णय गरिएको बताउनुभयो ।

बैठकले सभामुखको निर्वाचन प्रक्रिया तत्काल अघि बढाउनसमेत माग गरेको छ । सभामुख चयनको प्रक्रिया शुरु भएपछि कांग्रेसले सत्तारुढ दलसँग समेत सभामुखका बारेमा छलफल गर्ने निर्णय गरेको उहाले बताउनुभयो । उहाले संविधानले फरक दलको सभामुख र उपसभामुख हुने व्यवस्था भएकोप्रति ध्यानाकर्षण गराउँदै दाबी पेश गर्ने समेत जानकारी दिनुभयो ।

सत्तापक्षसँगको वार्तापछि सभामुखमा उम्मेदवार उठाउने वा नउठानेबारे निर्णय गर्ने निर्णय संसदीय दलले गरेको छ । बैठकले राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्न अन्य दलहरुलाई आग्रह गरेको छ ।