काठमाडौं, ३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षको विश्वभर प्रभाव परेको र यसले थप उत्साह तथा हौसला बढाएको बताउनुभएको छ ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)को ५३औँ वार्षिक साधारणसभाको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले स्वदेशसहित विश्वभर एकसाथ भ्रमण वर्षको उद्घाटनले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न थप सहयोग पुगेको उल्लेख गर्नुभयो । मन्त्री भट्टराईले भ्रमण वर्षका दौरानमा नेपालको पूर्वाधार तथा सेवाका सन्दर्भमा नकारात्मकभन्दा सकारात्मक पक्षलाई जोड दिन आग्रह गर्दै पर्यटकीय पूर्वाधार विस्तारसँगै सेवाको स्तरीकरणमा विशेष ध्यान दिइने बताउनुभयो । उहाँले पर्यटनलाई देशका हरेक कुनासम्म जोड्न देशभरका ५३ वटै विमानस्थल पूर्ण क्षमताका साथ सञ्चालन गरिने बताउनुभयो ।
एक वर्षभित्र दुई अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने र मुलुकको उड्डयन क्षेत्रमा सहजता आउने उहाँको भनाइ छ । उहाँले आगामी मे महिनासम्म निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल व्यावसायिक सञ्चालनमा आउने र पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल एक वर्ष्भित्रै सञ्चालन गर्ने गरी निर्माण कार्य तीव्र पारिएको जानकारी दिनुभयो ।
सन् २०२० देखि २०३० सम्म पर्यटकको दशकका रुपमा मनाएर अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धनका साथै पूर्वाधार निर्माणमा केन्द्रित हुने उहाँको भनाइ थियो ।