

काठमाडौं, ३ माघ । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सत्तारुढ नेकपा र कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ ।
सत्तापक्ष र प्रतिपक्षी नेताबीच सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
शुक्रबारको छलफलमा कुनै निष्कर्ष निकाल्न नसकेको र भोली शनिबार पुन बैठक बस्ने गरी बैठक स्थगित भएको उहाँले जानकारी दिनुभयो । छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू रमेश लेखक, मिनेन्द्र रिजाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र नेकपा नेता खिमलाल देवकोटा सहभागी हुनुभएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।
नेकपा र कांग्रेस नेताहरू संयुक्त रूपमा सातवटै प्रदेशमा आयोगबारेको विधेयकको मस्यौदामा द्वन्द्वपीडितसँग परामर्श गरेपछि यो छलफल भएको हो। उनीहरूले पीडितसँग विधेयकमा प्रस्ताव गरिएका व्यवस्थालाई लिएर छलफल गरेका थिए। यो विधेयक संसदबाट पास गराउने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने तयारी भइरहेको छ। दुवै आयोग गत वैशाख १ गतेबाट पदाधिकारीविहीन छन्।
सरकारले आयोगमा पदाधिकारी सिफारिस गर्न गत चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो। समितिले दरखास्त आहृवान गरेका ५७ मध्ये ५४ र त्यसमा थप ७ गरी ६१ उम्मेदवारको सूची मंसिर पहिलो साता प्रकाशन गरेको थियो। तर, राजनीतिक तहमा सहमति हुन नसक्दा समितिले नाम सिफारिस गर्न सकेको छैन् ।