सभामुखको टुंगो आज लगाउँदै ओली–प्रचण्ड

सभामुखको टुंगो आज लगाउँदै ओली–प्रचण्ड

काठमाडौं, ३ माघ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकापा)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुख निर्वाचनलगायत विषयमा छलफल भएको छ ।

सभामुख निर्वाचनको विषयमा सकारात्मक कुराकानी भएको र संसद् बैठक बस्नुअघि टुङ्गो लगाउने सहमति भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफलमा वार्ता सकारात्मक भएको र शुक्रबारसम्म सभामुखको विषयमा टुङ्गो लगाउने सहमति भएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच सभामुख चयनका विषयमा जारी गतिरोधलाई चाँडै निकास दिने सहमति भएको सचिवालयले जनाएको छ । सभामुख चयनका विषयमा अध्यक्षद्वय ओली र प्रचण्डबीच आ–आफ्नै अडान हुँदा संसद्को बैठक अवरुद्ध भएको हो ।नेकपाले सभामुखको विषय टुङ्गो नलगाएका कारण संसद्को बैठक तीनपटक सूचना टाँसेर सारिएको छ ।पुस ११, १६ र २७ गते बोलाएको बैठक सभामुखका कारण सर्दै आइरहेको छ । माघ ६ गतेका लागि संसद् अधिवेशन बोलाइएको छ ।

सभामुख चयनका लागि बाटो खोलिदिन नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गरेको छ तर उपसभामुख तुम्बाहाङ्फेले सभामुख को बन्ने निश्चित भएपछि मात्र आफूले राजीनामाबारे सोच्ने नेकपाका शीर्ष नेतालाई जानकारी दिइसक्नुभएको जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।