आफ्नो सिफारिस उल्ट्याएपछि कांग्रेस आक्रोशित, अदालत जाने तयारी

आफ्नो सिफारिस उल्ट्याएपछि कांग्रेस आक्रोशित, अदालत जाने तयारी

काठमाडौं – शेरबहादुर देउवा सरकारले गरेको निर्णय उल्ट्याएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । मंगलबार बिहान बसेको मन्त्री परिषद बैठकले राष्ट्रियसभा सदस्याका लागि तीनजनाको नाम सिफारिस गरेपछि कांग्रेसले त्यसको विरोध गरेको हो ।

केपी शर्मा ओली सरकारले यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले जाँदाजाँदै गरेको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि नयाँ तीनजनाको नाम सिफारिस गरेको हो ।

मंगलबार बिहान बसेको मन्त्री परिषद बैठकले राष्ट्रियसभा सदस्याका लागि रामनाथ बिडारी, युवराज खतिवडा र विमला पौडेल राईको नाम सिफारिस गरेको हो । यसअघि देउवा सरकारले चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो ।

ओली सरकारले गरेको निर्णय असंवैधानिक, अराजनीतिक र अनैतिक रहेको नेपाली कांग्रेसका नेता तथा देउवा सरकारमा प्रधानमन्त्री रहेको मीनबहादुर विश्वकर्माले बताएका छन् ।

‘आज बिहान मन्त्री परिषदले गरेको निर्णयले अघिल्लो सरकारलाई मान्यता नदिएको देखियो । त्यसो हो भने आउँदो सरकारले पनि यो सरकारलाई मान्यता नदिन सक्छ । यो राम्रो होइन ।’ उनले भने, ‘संविधान, संसदीय प्रणाली तथा प्रधानमन्त्रीय पद्धतिको खिलाफ गएर यो सरकारले निर्णय गरेको छ ।’

अहिलेको सरकारले आफूलाई सजिलो भएका निर्णय कायम राख्ने र आफ्नो स्वार्थ नमिलेका उल्ट्याउने गरेकोले सरकार जस्तो नभएर खेलाडी जस्तो बनेको नेता विश्वकर्माले आरोप लगाए ।

उनले भने ‘सरकार गठनकै बेला पनि संविधान र संसदीय पद्धतिको ख्याल गरिएन । यो सरकारल अहिले पनि संविधान र संसदीय तथा प्रधानमन्त्री पद्धतीय प्रणालीको विरुद्ध हुने गरी निर्णय गरेको छ ।’

सरकारको निर्णय विरुद्ध आफूहरु अदालत जाने संकेत गर्दै उनले भने, ‘हामी यो निर्णयको विरुद्धमा अदालत जाने तयारीमा छौँ । त्यसका लागि छलफल भइरहेको छ ।’ -देश सञ्चारबाट साभार