सञ्चारमन्त्रीको रावललाई प्रश्न : बालुवाटारबाट ज्यानमार्ने धम्की कसले दियो, प्रष्ट पार्नुस्

सञ्चारमन्त्रीको रावललाई प्रश्न :  बालुवाटारबाट ज्यानमार्ने धम्की कसले दियो, प्रष्ट पार्नुस्

काठमाडौँ, २ माघ । सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेकपाका नेता भीम रावललाई बालुवाटारबाट कसले ज्यान मार्ने धम्की दिएको हो स्पष्ट पार्न आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारे सोधिएको प्रश्नको जवाफ दिदै मन्त्री बास्कोटाले यस्तो बताएका छन् ।

प्रश्नको जवाफ दिदै मन्त्री बाँस्कोटाले प्रतिप्रश्न गर्दै प्रधानमन्त्री कसैको ज्यान लिने हुनुहुन्छ र ? भनेका थिए । ज्यान मार्ने धम्किको कुनै सत्यता नभएको भन्दै रावलले नै कसले कसरी धम्की दियो भन्ने प्रष्ट पर्नुपर्ने बताए ।

‘प्रधानमन्त्री नेकपाकै हुनुहुन्छ, उहाँ पनि नेकपाकै नेता हुनुहुन्छ’, उनले भने, ‘उहाँलाई सरकारले सुरक्षा उपलब्ध गराएकै छ, पछुवा पनि छ । त्यसैले उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने लाग्दैन ।’

प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई सिध्याउन तरबार वा खल्तीमा गोलीको माला लिएर हिड्नुहुन्छ भनेर सोच्नु गलत हुने सञ्चारमन्त्री बाँस्कोटाले बताएका छन् ।

बालुवाटारको जग्गा विप्लव समुहले कब्जा गरेको भन्ने प्रश्नको जवाफ दिदै मन्त्री बास्कोटाले विप्लवले जग्गा कब्जा गरेर कब्जा नहुने भन्दै बालुवाटारको जग्गा नेपाल सरकारको नै भएको बताए । उनले चर्चामा आउन विप्लव समुहले यस्तो गरेको बताए ।