काठमाडौं,८ फागुन। केपी शर्मा ओली सरकारले यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि नयाँ तीन जनाको नाम सिफारिस गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पूर्ववर्ती सरकारले गरेको सिफारिस उल्ट्याउँदै डाक्टर युवराज खतिवडा, राम नारायण बिडारी र बिमला पौडेल राईलाई सिफारिस गरेको हो ।
यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यका लागि ३ जनाको नाम राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन जनाको नाम अनुमोदनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो ।
तर दलीय सहमति नगरेरै सरकारले एकल रुपमा नाम सिफारिस गरेको भन्दै शीतलनिवासले ती नामलाई अनुमोदन गरेको थिएन ।
देउवा सरकारले झापाका गोपाल बस्नेत, महिला अधिकारकर्मी चाँदनी जोशी र कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।