

काठमाडौं, १ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेको बताउनुभएको छ । उहाँले नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने भन्दै सभामुखमा सहमति जुटाउन नसक्ने भए आफूहरुलाई दिन आग्रह गर्नुभयो ।
नेकपाभित्रको विवादले सभामुख चयन प्रक्रिया अवरुद्ध भएको छ, उहाँहरु मिल्दै, मिल्नुहुन्न भने हामी चलाइदिन्छौ सभामुख, तर संसदलाई बन्धक बनाउन मिल्दैन’ उहाँले भन्नुभयो ।
उहाँले चाँडै सभामुखको उम्मेदवार चयन गरी संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह पनि गर्नुभयो । आज बिराटनगरमा आयोजित कार्यक्रममा सभापति देउवाले सत्तापक्षका नेताहरुबीच नै विवाद कायम रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई चाँडै संसदबाट अनुमोदन गर्नुपर्ने धारणा पनि राख्नुभयो ।
पार्टी सभापति देउवाले केन्द्रीय समितिको बहुमतले निर्णय गरेको पार्टीको महाधिवेशनको समय अब कुनै पनि हालतमा परिवर्तन नहुने जिकिर गर्नुभयो ।