

काठमाडौं, १ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको आरोप झूट रहेको बताउनुभएको छ ।
बुधबार काठमाडौँको टुँडिखेलमा थारु संवत २६४३ तथा माघी महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि बारम्बार लाग्दै आएको आरोपमा कुनै सत्यता नरहेको समेत बताउनुभयो । हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेका भन्दै द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको उहाले बताउनुभयो । अध्यक्ष प्रचण्डले रेशम चौधरी छिट्टै छुट्ने दावी गर्नुभयो । झूटा मुद्दा लगाएकाहरुलाई छुटाउन आफ्नो प्रयास जारी रहेको भन्दै रेशम चौधरीलाई छुटाएरै छाड्ने उहाले बताउनुभयो । प्रचण्डले टीकापुर घटना, रेशम चौधरी वा थारु समूदायका समस्याबारे आफू जानकार रहेको भन्दै अझैपनि त्यसका लागि सहयोग जारी रहने जिकिर गर्नुभयो ।
समस्याहरु समाधान गर्न अझैपनि संवाद र शान्तिपूर्ण आन्दोलनको बाटोबाट अघि बढ्न जरुरी रहेको प्रचण्डले बताउनुभयो । पहिचान र अधिकारका निम्ति फेरि पनि बहस भइरहेको भन्दै उहाले नयाँ चिज लिन खोज्दा पोल्टामा भएको नखसोस् भन्नेतर्फ सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
थारु समुदायले बुधबार काठमाडौँको टुँडिखेलमा माघी महोत्सव मनाएका हुन् । विभिन्न साँस्कृतिक झाँकीहरुसहित परम्परागत पहिरनमा सजिएका थारु समुदायका युवा युवतीहरु माघी महोत्सवमा सहभागी भएका थिए । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाउँछन् । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर लगायत थारु बाहुल्य जिल्लामा माघी मिलन तथा माघ महोत्सवको आयोजना गरी उक्त पर्व धुमधामसँग मनाउने गरिन्छ ।