

काठमाडौं, १ माघ । नुवाकोटमा माघे सङ्क्रान्तिका अवसरमा गोरु जुधाइने क्षेत्र फैलँदै गएको छ ।यो वर्ष मात्रे नुवाकोटका विभिन्न ६ ठाउँमा गरी ५० हल गोरु जुधाइएको छ ।
गाउँमा विभिन्न ठाउँमा छरिएको गोरु जुधाइ परम्परालाई तारुकाले २०६२ सालबाट एकै थलोमा जुधाउन थालेपछि नुवाकोटमा गोरु जुधाइको रौनक छाएको छ । तारुकाले गरेको परम्पराको संरक्षणको सिको गर्दै बुधबार माघे सङ्क्रान्तिका दिन नुवाकोटका ६ ठाउँमा गोरु जुधाइएको हो । तारकेश्वर गाउँपालिकाको तारुका, विदुर नगरपालिकाको बेत्रावती, पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङ, लिखु गाउँपालिकाको कट्टिछाप, तादी गाउँपालिकाको सातविसे र शिवपुरी गाउँपालिकाको शेराबगरमा गोरु जुधाइएको थियो । तारुकामा २१ हल, बेत्रावतीमा ११ हल, घले भञ्ज्याङमा ८ हल, सातबिसेमा ४ हल, कट्टीछापमा २ हल र शेराबगरमा ४ हल गरी ५० हल गोरु जुधाइएका थिए ।
नेपालको राजनीतक खेल, दाउपेज र तिकडमलाई कतिपयले नुवाकोटको गोरु जुधाइसँग तुलना गर्ने गर्दछन् । बेत्रावतीको गोरु जुधाइ महोत्सवमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे पनि सहभागी हुनुभएको थियो ।