काठमाडौं, १ माघ । पछिल्ला केहि दिन सफा रहेको मौसम आजबाट फेरिने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज मौसम सम्बन्धी विशेष बुलेटिन निकालेर आजबाट मौसम बदली हुने जानकारी दिएको हो ।
महाशाखाका अनुसार आज साँझबाट नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज राति देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ ।
यो प्रणालीका कारण भोली देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै थोरै स्थानहरुमा भारी हिमपातको संभावना रहेको छ । साथै मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र सोहि भूभागका केहि स्थानमा भारी वर्षाको संभावना समेत रहेको छ ।
देशको पूर्वी भूभागमा बिहिवार आंशिकदेखि सामान्य बदलि भई केहि स्थानमा हल्का वर्षा र हिमपात हुनेछ । यस प्रणालीको प्रभाव देशभर शुक्रबार सम्म नै रहने र शुक्रबार समेत वर्षा र हिमपातको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।