‘ए’ डिभिजन लिग फुटबलःआर्मी र संकटाबीच १–१ गोलको बराबरी

  • 6
    Shares
‘ए’ डिभिजन लिग फुटबलःआर्मी र संकटाबीच १–१ गोलको बराबरी

काठमाडौं, २९ पुस । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मी संकटा क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा १० खेलाडीमा सिमित बनेको आर्मीले संकटासँग अंक बाडेको हो । खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । दिनेश हेम्जनले क्रसमा उनले उत्कृष्ट डाइभ हेड गोल गरेका थिए । जारी लिगमा नवयुगको यो दोस्रो गोल हो । तर, खेलको ५२ औं मिनेटमा आर्मी १० खेलाडीमा समेटियो । युद्ध शाही दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा आर्मी १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा संकटाले लियो । आर्मी १० खेलाडीमा समेटिएको दुई मिनेट नबित्दै संकटा बराबरी फर्काउन सफल भयो ।

खेलको ५५ औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै संकटालाई हारबाट जोगाए । ८० औं मिनेटमा आर्मीका कप्तान भरत खवास नवयुग श्रेष्ठलाई रिप्लेस गर्दै मैदान प्रवेश गरे । तर उनी १ मिनेटमै घाइते हुन पुगे । संकटाका लक्ष्मण रुचालले प्रहार गरेको फ्रि कीक उनको टाउँकोमा लाग्दै लडेका थिए । असहज महशुस गरेपछि खेलाडी र रेफ्री दौडिएर भरतको स्थानमा पुगेका थिए भने तत्कालै मेडिकल टिम र एमबुलेन्सनै मैदान प्रवेश गराइएको थियो । तर भरत एम्बुलेन्समा भने चढेनन् । उनी हिडेर मैदान बाहिर गएका थिए । त्यसपछि शुरु भएको खेलमा दुवै तर्फबाट कुनै पनि गोल नभएपछि संकटा र आर्मीले एक एक अंक बाडे ।

संकटासँगको बराबरीसँगै आर्मीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । समान खेलमा समान अंक जोडेको मछिन्द्र फुटबल क्लब लिगको शीर्ष स्थानमा रहेको छ । संकटाले ६ खेलमा ८ अंक जोडेको छ । संकटा आठौं स्थानमा रहेको छ ।