’ए’ डिभिजन लिग : एनआरटीद्वारा पुलिस १–० अन्तरले पराजित

’ए’ डिभिजन लिग : एनआरटीद्वारा पुलिस १–० अन्तरले पराजित

काठमाडौं,२८ पुस। सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

सोमबार भएको खेलमा एनआरटीले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा दर्शनले निर्णायक गोल गरे । डिबक्स भित्रबाट उनको कडा प्रहार सिधै गोल भएको थियो । एनआरटीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि पुलिसले गोल गर्न सकेन । जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । लिगमा एनआरटीको यो तेस्रो जित हो । एनआरटीले ६ खेलमा ८ अंक जोडेको छ । पुलिसको यो दोस्रो हार हो । पुलिस ६ खेलमा ८ अंकसहित सातौं स्थानमा झरेको छ ।

यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार नै भएको अर्को खेलमा च्यासलले एपीएफसँग गोलरहित बराबरी खेलेको छ । एपीएफविरुद्ध बल पोजिसनमा एकतर्फी पटक बनाएको च्यासलले पाएको अवसर गुमाउँदा एक अंकमा चित्त बुझाएको हो । एपीएफसँगको बराबरीसँगै च्यासलले अंक तालिका सुधारको अवसर गुमाएको छ । ६ खेलमा ६ अंक जोडेको च्यासल लिगको दशौँ स्थानमा रहेको छ । यस्तै एपीएफ ६ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा रहेको छ । प्रतियोगीता अन्तर्गत मंगलबार हुने एकमात्र खेलमा संकटा र त्रिभुवन आर्मीबीच प्रतिष्पर्धा हुने छ ।