एक महिना संसद् बन्धक

एक महिना संसद् बन्धक

काठमाडौं, २८ पुस । ‘दौडिँदै आजै बिहान आइपुगियो, फेरि आजै जिल्ला फर्किंदैछौं,’ गण्डकी प्रदेशका एक हुल सांसदले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसँग गुनासो पोखे, ‘अब ६ गतेका लागि पनि के पो गर्ने होला रु साह्रै अन्योलमा परियो।’ जवाफमा नेम्बाङले भने, ‘त्यो बेलासम्म केही निकास आउला नि।’

आइतबार संसद् चल्ने आसमा उनीहरू दौडधुप गर्दै काठमाडौं आएका थिए। दिउँसो १ बजे बोलाइएको बैठकमा सहभागी हुन उनीहरू संसद् भवन नयाँ बानेश्वर पुगेर हाजिर पनि गरे। तर सिंहदरबारबाटै बैठक माघ ६ सम्मका लागि स्थगित भएको सूचना टाँसियो। उनीहरू हिस्स परे।

नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताले कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रमका कारण गण्डकी प्रदेशका नेकपा सांसदहरू आइतबार नै जिल्ला फर्केका छन्। संसद् स्थगित भएको जानकारी पाएपछि बानेश्वर पुगेका सांसदहरू पनि निरास बने। ‘हाम्रो पार्टी ९कांग्रेस० र नेकपाभित्रको लडाइँले जनतामा यो व्यवस्थाप्रति नै वितृष्णा पैदा होला जस्तो छ,’ कांग्रेस सांसद सञ्जय गौतम भन्दै थिए, ‘जनताले प्रश्न गर्ने बेला आइसक्यो।’

झन्डै एक महिनादेखि स्थगित संसद्को बैठक सूचनाद्वारा एक साता पछि सारिएकोमा सत्तारुढ नेकपाकै सांसद विशाल भट्टराई पनि असन्तुष्ट छन्। ‘हामी सांसदहरूले जनताका समस्या राख्ने थलो भनेकै संसद् हो,’ उनले भने, ‘जनताका समस्याबारे हामीले बोल्नै पाएका छैनांै। नेताहरूले सहमति गरेर चाँडो निकास दिनुपर्‍यो।’

नेकपाभित्र सभामुख चयनमा देखिएको विवादले संसद् बैठक बस्न सकेको छैन। यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त सभामुख कसलाई बनाउनेमा पार्टीमा तीव्र विवाद छ। संसद्मा झन्डै दुई तिहाइ बहुमत भएको नेकपाको आन्तरिक विवादले सभामुखको चुनावदेखि संसद्को काम कारबाही प्रभावित भइरहेको छ। पार्टीले राजीनामा मागे पनि उपसभामुख डा। शिवमाया तुम्बाहाङफेले आइतबारको बैठक सञ्चालन गर्ने अभिव्यक्ति दिएपछि बैठक चल्नेमा सांसदहरू विश्वस्त थिए।

‘पटक पटक संसद् स्थगित हुनु दुःखद् हो,’ नेकपा संसदीय दलका उपनेता नेम्बाङले भने, ‘संसद्को मुख्य काम सभामुख चयन गर्नु हो। सभामुख नहुँदा संसद्का काम कारबाही प्रभावित हुनु राम्रो होइन।’ कांग्रेस सांसद गगन थापा नेकपाभित्रको स्वार्थ विवादले संसद्लाई बन्धक बनाउनु निन्दनीय भएको बताउँछन्। ‘यो संसदीय अभ्यास र गरिमाको मात्र होइन संविधानले प्रबन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलाफमा छ’, उनले आइतबार ट्विट गरेका छन्, ‘उपसभामुखज्यू, संसद् कुनै दलको छाया होइन, तपाईं संसद्को उपसभामुख हो, नियमानुसार सदनको प्रक्रिया अगाडि बढाइयोस्।’

प्रतिनिधिसभा स्थगित हुँदा दुई दर्जनभन्दा बढी विधेयकको काम कारवाही अघि बढ्न सकेको छैन। सभामुख नहुँदा ५ वटा विधेयक प्रमाणीकरण रोकिएको छ। ‘प्रेस, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने गरी सरकारले पेस गरेका विधेयकमाथि छलफल गर्न पाएका छैनौं,’ कांग्रेस सचेतक पुष्पा भुसाल भन्छिन्, ‘सरकारबाट जताततै भ्रष्टाचार, अनियमितताका काण्ड मच्चाइएका छन्। विपक्षीको विरोधलाई छल्न पनि सरकारले संसद् नचलाउने षडयन्त्र गरेको हो कि भन्ने लागेको छ।’ अन्नपूर्ण पोष्टमा खबर छ ।