ए डिभिजन लिग : थ्री स्टार फ्रेन्ड्स क्लबसँग १–० अन्तरले पराजित

ए डिभिजन लिग : थ्री स्टार फ्रेन्ड्स क्लबसँग १–० अन्तरले पराजित

काठमाडौँ, २७ पुस। काठमाडौँमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो खेलमा थ्री स्टार फ्रेन्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित भएको हो । बलियो टिम थ्री स्टारविरुद्ध फ्रेन्ड्सलाई जित दिलाउन ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले निर्णायक गोल गरे । कार्मोले खेलको १३ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई जित दिलाए । विश्व अधिकारीको फ्रिकिक बलमा उनले हेड गोल गरेका थिए । फ्रेन्ड्ससँग पराजित भएसँगै थ्री स्टारले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ । फ्रेन्ड्सको यो पहिलो जित हो ।

यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोश्रो खेलमा ब्रिगेड ब्वाईज क्लबसँग गोलरहित बराबरी खेल्दै सरस्वतीले लिगमा पहिलो अंक जोडेको छ । अघिल्ला पाँच खेलमा पराजित सरस्वतीले छैटौं खेलमा आएर एक अंक जोडेको हो । ब्रिगेडसँग बराबरी खेलेपछि सरस्वतीले ६ खेलमा १ अंक जोडेको छ । सरस्वती लिगको पुछारमा रहेको छ । ब्रिगेड ६ खेलमा ६ अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ ।