आज पृथ्वीजयन्ती,विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइँदै

आज पृथ्वीजयन्ती,विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइँदै

काठमाडौं, २७ पुस । राष्ट्र निर्माता वडा महाजधिराज पृथ्वीनारायण शाहको २ सय ९८औँ जन्मजयन्तीका अवसरमा पुस २७ गते आइतबार मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदैछ ।

विसं १७७९ मा गोरखामा जन्मनुभएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए। सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो। सिंहदरबार पश्चिम मूलद्वारमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुकका विभिन्न क्षेत्रका विशिष्ट महानुुभाव सहभागी हुने कार्यक्रम छ । समारोहमा राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिने छ । वि सं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दुरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ । पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पुर्यामएको भनी राजनेताबाटै समेत उनको योगदानको सह्राना भएको छ ।

नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ । मुलुकको विकास र समृद्धिका लागि सुशासन कायम गर्न घुस दिने र लिने दुवै देशका शत्रु हुन् भन्ने राष्ट्र निर्माताको धारणा सदा सर्वदा स्मरण योग्य छ । राष्ट्र निर्माताको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गर्न पछिल्लो समय प्रखर रुपमा आवाज मुखरित हुँदै आएको छ ।

एकीकरण नभएको भए औपनिवेशिकताको प्रवाहलाई रोक्न र स्वतन्त्र राष्ट्रकै रूपमा नेपाल रहन सम्भव नरहेको भनी विश्लेषण गरिँदै आएको छ ।