काठमाडौं, २७ पुस । प्रदेश नम्बर ३ को नाम वाग्मती र राजधानी हेटौंडा टुंग्याउन आज प्रदेशसभामा मतदान हुने भएको छ ।
आज विहान नौ बजेबाट मतदान प्रक्रिया सुरु हुने प्रदेश संसद सचिवालयले जनाएको हो । स्थायी राजधानी र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६ अनुसार प्रदेशसभा सचिवालयमा हिजाे प्रदेशसभामा प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्नुपर्ने प्रस्ताव सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी कांग्रेसलगायत ६ दलले दर्ता गरेका थिए ।
हिजाे दिउँसो बसेको प्रदेशसभा बैठकमा प्रस्तावित नाम र राजधानीबारेको छलफल सकिएको छ । प्रदेशको राजधानीका लागि मकवानपुरको हेटौंडा र काभ्रेपलाञ्चोकको धुलिखेल प्रस्ताव भएको छ । प्रदेशको नाम वाग्मतीमात्र प्रदेशसभामा दर्ता भएपनि स्वतन्त्र सांसद् प्रेमबहादुर तामाङले विपक्षमा मतदान गर्ने बताएपछि प्रदेशको नामकरण सर्वसम्मत नहुने देखिएको हो । प्रदेशको राजधानी हेटौंडा राख्ने प्रस्ताव नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले गर्नुभएको थियो ।
प्रस्तावमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाका रिता माझी, राप्रपा संयुक्तका रिना गुरुङले समर्थन जनाएका थिए । प्रदेशको नाम बागमती राख्ने प्रस्ताव कांग्रेस दलका नेता बानियाँले गर्नुभएको थियो । प्रस्तावमा नेकपा मुख्य सचेतक रामेश्वर फुयाँल, राप्रपाका रिता माझी, राप्रपा संयुक्तका रिना गुरुङ, विवेकशील नेपाली दलका रमेश पौडेल र साझा पार्टीका शोभा शाक्यले समर्थन गरेका थिए ।