’ए’ डिभिजन लिग : सरस्वतीलाई पराजित गर्दै त्रिभुवन आर्मी शीर्ष स्थानमा

’ए’ डिभिजन लिग : सरस्वतीलाई   पराजित गर्दै त्रिभुवन आर्मी  शीर्ष स्थानमा

काठमाडौँ, २४ पुस ।  विभागीय क्लब त्रिभुवन आर्मी क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको झिनो जितमा जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गरे । खेलको ३० औं मिनेटमा दिनेश हेन्जनको पासमा जर्ज प्रिन्सले गोल गरेका थिए ।

खेलमा आर्मीका विकास खवास म्यान अफ दि म्याच चुनिए । आर्मीको यो लिगमा चौंथो जित हो । जितसँगै शीर्ष स्थानमा उक्लिएको आर्मीले ५ खेलमा १२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मनाङको ५ खेलमा ११ अंक रहेको छ । सरस्वतीको यो लगातार पाँचौं हार हो । लिगको पुछारमा रहेको सरस्वतीले ५ खेलमा अंक जोड्न सकेको छैन ।

यस्तै बिहीबार नै भएको पहिलो खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले दुई गोल गरे । यस्तै लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरे ।

एपीएफका नबिन लामा र आशिष लामा लामाले एक एक गोल फर्काए । जितसँगै संकटा लिगको सातौं स्थानमा उक्लिएको छ । संकटाले ५ खेलमा ७ अंक जोडेको छ । एपीएफको ५ खेलमा ४ अंक रहेको छ । एपीएफ लिगको ११ औं स्थानमा रहेको छ ।