

काठमाडौं, २४ पुस। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग असन्तुष्ट पक्षका भनिएका सभापतिहरुले सामूहिक भेटवार्ता गर्दैछन्।
संस्थापन पक्षसँग असन्तुष्ट रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले बोलाएको जिल्ला सभापतिहरुको परामर्श बैठकबाट आएका निष्कर्षसहित सभापति देउवालाई भेट्न लागेका हुन्।तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा ४७ जना जिल्ला सभापतिले आफ्नो धारणा राखेका छन्। सभापतिहरुले राखेका धारणालाई आधार बनाएर तयार गरिएको सुझावलाई पार्टी कार्यालयमै बुझाउन पाउनुपर्ने माग जिल्ला सभापतिहरुको छ।
सभापति देउवाले असन्तुष्ट जिल्ला सभापतिहरुलाई बिहानको खाजा खानलाई बूढानीलकण्ठस्थित निजी निवासमा बोलाएको नुवाकोटका सभापति जगदीशश्वरनरसिंह के.सी.ले जानकारी दएि।
जिल्ला सभापतिहरुले देउवा निवासमा गएर पार्टी कार्यालयमै उपस्थित भई सुझावलाई लिई दिन सभापति देउवासँग आग्रह गर्ने तयारी गरेका छन्। सभापतिको मुख्य सुझावमा एक पक्षीयरुपमा घोषित १४ औं महाधिवेशनको कार्यतालिका सहमतिमा घोषणा गरिनुपर्ने, पार्टीका विभाग २८ वटै कायम रहनुपर्ने र विधानअनुसार नै गठन गरिनुपर्ने, भ्रातृ सङ्गठनको विधान अनुसार नै गठन गरिनुपर्ने, भागबण्डाको राजनीति त्याग्नुपर्नेमा जोड दिइएको छ।