

काठमाडौं, २२ पुस । नेपाली कांग्रेसको संस्थापन पक्षको जिल्ला सभापतिहरुको भेला दोश्रो दिन मंगलबार पनि जारी रह्यो ।
संस्थापन ले यही पुस ११ गते एकलौटीरुपमा विधानका दफा निलम्बन गर्ने र आगामी १४औं महाधिवेशनको मिति घोषणा गरेपछि रुस्ट बनेको असन्तुष्ट पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको थियो । भेलामा ४० भन्दा बढी जिल्लाका सभापतिहरुको सहभागिता रहेको छ । भेला भोली बुधबार सम्म चल्ने नेताहरुले बताएका छन् ।
पुस ११ गते वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको बहिस्कारकाबीच सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको कार्यतालिका, विभागको संख्या थप्ने र पार्टी विधानका दफा निलम्बन गर्ने निर्णय गराउनुभएपछि निर्णय सच्याउन दबाब दिनको लागि पौडेल पक्षले सभापतिको भेला बोलाएको हो ।
भेलामा सहभागी जिल्ला सभापतिहरुले पुस ११ गते गरेका निर्णय सच्याउन र पार्टीलाई विधि र विधानसंगत ढंगले चलाउन माग गरेका छन् । पौडेल पक्षले जिल्ला सभापतिसँगको परामर्श र छलफलपछि सभापति देउवाविरुद्धको रणनीतिबारे निर्णय लिइने रणनीति लिएको छ ।