काठमाडौं, २१ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको पाँचौ चरणको खेल आजबाट सुरु हुँदैछ । आज हुने पाँचौं चरणको खेलमा दुई खेल हुनेछ । पहिलो खेलमा जावलाखेल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
लिगमा अपराजित रहेको जावलाखेल र एनआरटीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह १२ बजे सुरु हुनेछ । जावलाखेल एनआरटीलाई पराजित गर्दै शीर्ष स्थान कब्जा गर्ने दाउमा हुनेछ । यस्तै सुरुवाती खेलबाटै २ अङ्क खोसिएको एनआरटी पनि जावलाखेललाई पराजित गर्दै शीर्ष ६ मा आफूलाई सुरक्षित गर्न चाहन्छ ।
लिगमा जावलाखेल ८ अङ्कसहित लिग तालिकाको चौथो स्थानमा छ । यस्तै, आजै हुने दोस्रो खेलमा उपाधि दाबेदार मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ३ बजे यी दुई टोलीबीच खेल हुनेछ । अपराजित रहेका दुवै टिम आजको खेलमा पनि अपराजित रहने योजनामा हुनेछन् । नतिजाले लिगको तालिकामा पनि प्रभाव पार्ने छ । मनाङ विजयी भए शीर्ष स्थानमै यथावत रहँदा मछिन्द्र विजयी भए मछिन्द्र नै शीर्ष स्थानमा पुग्ने छ ।