अष्ट्रेलियामा सङ्कटकाल घोषणा

अष्ट्रेलियामा सङ्कटकाल घोषणा

एजेन्सी । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा संकटकाल घोषणा गरिएको छ । केही समयदेखि लागेको डढेलोको खतरा बढेपछि उक्त राज्यमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको हो । आज विहान स्थानीय समय अनुसार ८ बजेदेखि शुुरु हुने संकटकाल सात दिन रहने जनाइएको छ ।

आगामी हप्ता गत हप्ता जस्तै खतरा हुनसक्ने राज्य सरकारले जनाएको छ । सिड्नी शहर रहेको पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता तापक्रम बढ्ने र हावा तीब्र चल्ने पूर्वानुमान मौसमविद्हरुले गरेका छन् । यसबाट डढेलोको खतरा झनै बढ्ने अनुमान गरिएको हो । चार महिनाअघि सेप्टेम्बरदेखि लागेको डढेलोले अष्ट्रेलियामा १८ जनाको मृत्यु भइसकेको छ ।

अनियन्त्रित डढेलोले भिक्टोरिया र न्यू साउथ वेल्समा एक हजार २ सय घर जलेर खरानी भएका छन् । यस हप्तामा १७ जना मानिस हराइरहेको जनाइएको छ । खतरा भनिएका शहरबाट हजारौं हजार मानिस सुरक्षित स्थलतर्फ लगिएको छ । र यसलाई अहिलेसम्मकै ठूलो स्थानान्तरण भनिएको छ । न्यू साउथ वेल्सको २ सय ६० किलोमिटर लामो तटीय क्षेत्र शनिबार अगावै खाली गर्न निर्देशन दिईसकिएको छ ।