सशस्त्रमा ६ डीआईजी पद रिक्त, भावी आईजीपीका दाबेदार नै रिटायर्ड

सशस्त्रमा ६ डीआईजी पद रिक्त, भावी आईजीपीका दाबेदार नै रिटायर्ड

काठमाडाैं, १७ पुस । सशस्त्र प्रहरी बलमा बुधबारदेखि तीन जना नायव महानिरीक्षक (डीआईजी) ले अवकाश पाएका छन्। डीआईजीको पाँच वर्षे सेवा अवधिका कारण तीेन जनाले अवकाश पाएसँगै सशस्त्रमा रिक्त डीआईजीको संख्या ६ पुगेको छ।

बुधबार अवकाश पाउने डीआईजीहरूमा सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे र अरबिन्द धिताल रहेका छन्। उनीहरू सबै २०५१ सालमा नेपाल प्रहरीमा भर्ना भएका थिए।

सशस्त्र प्रहरी बलको प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठलाई भावी नेतृत्वका लागि दाबेदार मानिएको थियो। सशस्त्र प्रहरी बलमा अब्बल अधिकृतका रूपमा चिनिएका श्रेष्ठलाई इमान्दार, भिजन भएको अधिकृतका रुपमा समेत लिने गरिन्थ्यो।

हालका महानिरीक्षक शैलेन्द्र खनालको उत्तराधिकारीका रूपमा समेत हेरिएका श्रेष्ठको अवकाशलाई सशस्त्र प्रहरीभित्र धेरैले सहज रूपमा लिन सकेका छैनन्। खनालपछि उनले नेतृत्व लिँदा सशस्त्र प्रहरीले सहज बाटो लिने र संगठनको साख थप बढ्ने संगठनभित्र चर्चा पनि चल्ने गथ्र्याे। तर अब यो च्याप्टर बन्द भएको छ।

सशस्त्र प्रहरीको प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठको नाम र तस्बिर राति नै वेभसाइटबाट हटाइएको छ। र, त्यहाँ सूचना शाखाका प्रमुख डीएसपी अजय छतकुलीलाई सहायक प्रवक्ता भनेर राखिएको छ।

सशस्त्र प्रहरी बलमा अब्बल अधिकृतका रूपमा चिनिएका श्रेष्ठलाई दरबन्दी थपेर अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउन संगठनले धेरै प्रयास गरेको थियो। सो प्रयास असफल भएपछि डीआईजीको कार्यकाल एक वर्ष थप्न लविङसमेत भएको थियो।

सशस्त्र प्रहरी बलमा ६ ओटा एआईजी दरबन्दी रहेकोमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले पाँच ओटा थपेर ११ पुर्याएको थियो। हालको सरकारले गत वर्षको जेठमा एआईजीको संख्या घटाउँदै दुईमा झरेको थियो। त्यसबेला तत्काललाई तीन जना एआईजी राख्ने व्यवस्था गर्दै जुनसुकै कारण पद रिक्त भए पनि नथप्ने भन्दै दुई जना रहने व्यवस्था गरेको थियो।

तर, सशस्त्रको वर्तमान नेतृत्वले दरबन्दी थप गर्न गृह मन्त्रालयसँग पटकपटक माग गरेको थियो। तर, प्रस्ताव अस्वीकृत भएसँगै तीनै जना डीआईजीले सेवा प्रवेश गरेको २५ वर्षमै घर जानुपर्ने बाध्यता आएको हो। याे खबर आजकाे राजधानी दैनिकमा प्रकाशित छ।