नेकपा सचिवालय बैठक बस्दै, को बन्ला सभामुखको उम्मेदवार ?

नेकपा सचिवालय बैठक बस्दै, को बन्ला सभामुखको उम्मेदवार ?

काठमाडौं, १७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । आज साँझ ४ बजेका लागि बोलाइएको बैठकले सभामुखको उम्मेदवार कसलाई बनाउने टुङ्गो लाग्ने एक सचिवालय सदस्यले बताउनु भएको छ ।

यसअघि मंगलबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएपनि सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने टुंगो लाग्न सकेको छैन ।

सभामुख कसलाई बनाउने भन्ने विषयमा अध्यक्षद्वयको आ–आफ्नै तर्क र दावी छ । दुई अध्यक्षको फरक फरक चाहना भएपछि सभामुख टुंग्याउने विषय निर्णयमा पुग्न सकेको छैन । सुवास नेम्वाङ वा अग्नि सापकोटामध्ये कसलाई सभामुख बनाउने भन्ने विषयमा दुई अध्यक्षबीच कुरा मिल्न सकेको छैन । नेकपाले सभामुखको उम्मेदवार चयन गर्न ढिलाई गरेकै कारण संसद बैठक पनि प्रभावित हुदै आएको छ ।